मृतक रबि चाैधरीको परिवारलाई वेवास्ता गरीएकाे परिवारकाे गुनासोः नगरपालिकाले दिने भनिएकाे २५ हजार समेत अझै पाएनन्

201
SwadeshPost

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी धोबाहाका किशोर रबि चाैधरीको परिवारलाई सहयोगदाता र सरोकारवालाहरु खासै वास्ता नगरेको मृतककाे परिवारले गुनासो गरेको छ । समान खालको घटनामा शोकाकूल रहेको माडी टम्टाका परिवारलाई सबैतिरबाट सहयोग जुटिरहँदा हात्तीकै आक्रमणबाट मृत्यु भएका आफ्नो परिवारलाई समवेदना व्यक्त गर्न आउने पनि खासै कोही नभएको सो परिवारले गुनासो गरेको हो । स्वदेश एफ.एम.संग कुराकानी गर्दै चाैधरी परिवारका सदस्य जितेन्द्र मर्दनीयाले जंगली हात्ती धपाउने सामुदायिक कार्यमै आफ्नो परिवार सदस्य गुमेको भएपनि माडी नगरपालिका र अन्य सहयोगी निकायहरुले खासै वास्ता नगरेको गुनासो गर्नुभयाे । अन्य पीडित परिवारलाई नगरपालिकाले रोजगारी तथा शैक्षिक कोषवापत पाँच लाख रुपैंया उपलब्ध गराएको तर आफ्नो परिवारलाई भने त्यस्तो कुनै अतिरिक्त राहत दिने वास्ता नगरिएको साे परिवारको गुनासो छ ।

चाैधरीकाे परिवारले हालसम्म क्रिया खर्चबापत बघौंडा मध्यवर्ती उपभोक्ता समितिबाट २५ हजार पाउनुका अलावा अन्य राहत पाइनसकेको जनाएको छ । नगरपालिकाले २५ हजार रुपैंया दिने जनाएको तर त्यो समेत पाउन बाँकी रहेको परिवार श्रोतको भनाई थियो । गत कार्तिक २ गते हात्तीको आक्रमणमा परी १५ बर्षका किशोर रबि चौधरीको ज्यान गएको थियो ।

SwadeshPost