नारायणगढ माडी ठोरी रुटका सार्वजनिक सवारी साधनहरुद्वारा पुनः मनपरी भाडा असुली

231
SwadeshPost

नारायणगढ माडी ठोरी रुटमा सञ्चालित सार्वजनिक सवारी साधनहरुले पुनः मनपरी भाडा उठाउन थालेका छन् । बसन्तपुरका एक व्यवसायीले दिनुभएको सुचनाका आधारमा बिहिबार दिउसो ईलाका प्रहरी कार्यालय माडीको सहयोगमा स्वदेश अनलाइन टेलिभिजनले गरेको स्टिङ अपरेशनका क्रममा सार्वजनिक बसले भरतपुरबाट ल्याएको सामाजको चर्को भाडा असुलेको देखिएको हो । बिहीबार दिउसो एक यात्रुबाहक बसले प्लास्टिकको साधारण पोकालाई समेत बसका यात्रुले तिर्नुपर्नेभन्दा धेरै भाडा असुलिएको देखिएको थियो । त्यसैगरी, बसमा यात्रा गरिरहेका यात्रुहरुले निर्धारित रकमभन्दा धेरै भाडा तिर्नु परेको र भाडामा एकरुपता नभएको जनाएका थिए ।

नारायणगढबाटै माडीको निश्चित गन्तव्यका लागि यात्रा गरिरहेका यात्रुहरुले भने निर्धारित भाडा रकम नै तिरेको जनाएपनि माडीकै कुनै ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने यात्रुहरुले फरक फरक दरको भाडा तिर्नुपरेको पाइएको थियो । यात्रुहरुले माडीभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्दाको सवारी भाडा निर्धारित हुनुपर्ने आवाज उठाएका थिए ।

यसैबिच, माडी ठोरी रुटका सार्वजनिक सवारी साधनहरुले नारायणगढ सम्मका लागि भनी निर्धारित भाडा लिएपनि भरतपुरको चौबिसकोठीसम्म मात्रै सेवा दिइरहेको देखिएको छ । गत भदौ ७ गते माडी नगरपालिका कार्यालयमा माडी ठोरी रुटको सवारी भाडा समायोजनका निम्ति बहुपक्षीय छलफल हुँदा व्यवसायीहरुले नारायणगढको लायन्स चोकसम्मै गाडी चलाउने प्रतिबद्धता जनाएका थिए । चौबिसकोठीसम्म मात्रै गाडी चलेकोमा त्यहाँबाट नारायणगढ पुग्न यात्रुहरुले थप रकम तिर्नु परिरहेको अवस्थामा लायन्सचोकसम्मै गाडी चल्ने भएपछि भाडा बढाउन सबैलाई नैतिक दबाब पुगेको थियो । सोही बैठकको निर्णयका आधारमा यातायात व्यवस्था कार्यालय भरतपुरले अन्य रुटको भाडा नबढ्दै माडी ठोरी रुटको भाडा २९ प्रतिशतले बृद्धि गरेको थियो । तर भाडा बढेपनि व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरेअनुरुप लायन्स चोकसम्मै पुग्ने सेवा भने पाएका छैनन्

SwadeshPost