बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको तेश्रो बार्षिक साधारणसभा खरकट्टामा सम्पन्न

116
SwadeshPost

मध्यपूर्वी माडीको बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको तेश्रो बार्षिक साधारणसभा शनिबार माडी नगरपालिका वडा नं. ८, खरकट्टामा सम्पन्न भएको छ । बन उपभोक्ता समूहका अध्यक्ष मोहन बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं शिक्षा शाखा प्रमुख कृष्णराज अधिकारी रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिहरुमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी र जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाकर गौतम रहनुभएको थियो । कार्यक्रममा सो बन समूह सम्बद्ध पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा पेश गरिएको प्रगति प्रतिवेदनमा बन समूहले काठ बिक्री तथा अन्य श्रोतबाट आर्जन गरेको आय रकम बैकुण्ठे क्षेत्रमा सिंढी बनाउन तथा अन्य सामाजिक कार्यहरुमा व्यय गरिएको जनाइएको थियो । समूहले आगामी बर्षभित्रमा आफ्नै कार्यालय भवन निर्माण गर्ने जनाएको छ । सो भवन निर्माणका लागि माडी नगरपालिका वडा नं. ८ कार्यालयले गतबर्ष नै १ लाख विनियोजित गरेकोमा जारी बर्षमान थप १ लाख ५० हजार निनियोजन गरेको कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो ।

यसैबिच, सो साधारणसभाकै क्रममा पटक पटक सो सामुदायिक बन उपभोक्ता समूहको सदस्य एवं २०५६ सालदेखि २०६६ सालसम्म बन समूहको उपाध्यक्ष रही बनको संरक्षणमा योगदान गर्नुभएका इन्द्रबस्ती निवासी बलराम भट्टराईलाई सम्मान समेत गरिएको थियो ।

SwadeshPost