माडीको जनकल्याण मा वि.मा ४ कोठे भवन निर्माण हुने

164
SwadeshPost

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माण हुन लागेको छ । भवनको बुधबार बिहान ११ बजे औपचारिक शिलान्यास हुन लागेको विद्यालयले जनाएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित शिलान्यास कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन शिक्षा इकाईका प्रमुख भक्त बहादुर सेञ्चुरी र माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक राम बहादुर जि.सी.ले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

करीब ७० लाख लागतमा निर्माण हुन लागेको सो भवनको सम्पूर्ण लागत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भरतपुरले व्यहोर्नेछ । वरपरका विद्यालयहरुबाट समायोजन भई यस बर्ष विद्यार्थीहरुको चाप उच्च भएसंगै सो विद्यालयलाई कक्षाकोठाको अभाव भएको हो । अर्कोतर्फ बि.सं. २०७२ सालको महाभूकम्पमा परी विद्यालयको १२ कोठे भवन जीर्ण भएसंगै विद्यालयलाई नयाँ भवनहरु निर्माण गरी सुरक्षित रुपमा पठनपाठन गराउन अत्यावश्यक हुँदै गएको छ ।

SwadeshPost