दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाई स्कूलबस उपलब्ध

235
SwadeshPost

1 hr ·

माडी नगरपालिकाले दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाई स्कूलबस उपलब्ध गराएको छ । विद्यालयको ब्लक ‘ए’ रमाइलोडाँडामा बिहीबार बिहान प्रार्थनासभाकै बिच एक संक्षिप्त कार्यक्रममार्फत बसको चाबी हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्लेलाई स्कूलबसको चाबी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाईसमेत संस्थागत विद्यालयमा जस्तै गरी स्कूल बसमा चढी विद्यालय जान आउन सहज वातावरण बनाउन लागेको जनाउनुभयो । सामुदायिक विद्यालय र त्यसमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न नगरपालिका लागिपरेको उहाँको भनाई थियो । कार्यक्रममा नगर उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, वडाध्यक्ष रामबन्धु पोखरेल, नगर युवा, खेलकूद तथा साँस्कृतिक समितिका अध्यक्ष हरि भुसालसंगै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी तथा शिक्षक र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

माडी नगरपालिकाको ३१ लाख रुपैंया सहयोगमा विद्यालयले सो बस खरिद गरेको हो । यसका लागि हाल नगरपालिकाले १५ लाख रुपैंया निकाशा दिइसकेको तथा बाँकी रकम पछि निकाशा दिने नगरप्रमुख ढकालले स्वदेश एफ.एम.लाई जनाउनुभयो । नगरपालिकाले यसअघि अघिल्लो महिनामा २८ लाख रुपैंया लागत रहेको अर्को एकवटा स्कूलबस सो विद्यालयलाई प्रदान गरिसकेको छ ।

SwadeshPost