बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि इञ्जिनियरहरु सम्मिलित टोलीद्वारा स्थलगत अवलोकन

227
SwadeshPost

मध्यपूर्वी माडीमा रहेको चर्चित पर्यटकीय गन्तव्यस्थल बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया अन्तरगत बिहिबार स्थलगत अवलोकन गरिएको छ । बैकुण्ठ क्षेत्रको डि.पी.आर. सहितको गुरुयोजना निर्माणका लागि इञ्जिनियरहरु सम्मिलित टोलीले बैकुण्ठे क्षेत्रको अवलोकन भ्रमण गरेको हो ।

भ्रमण टोलीमा बैकुण्ठधामको गुरुयोजना निर्माणको जिम्मेवारी पाउनुभएका इञ्जिनियरद्वय ओमप्रकाश पौडेल र कृष्ण भण्डारी सहित माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, पर्यटन विकास समिति माडी नगरपालिकाका अध्यक्ष नारायण पौडेल, बैकुण्ठ पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष जीत बहादुर भण्डारी, स्वदेशकर्मी युवा पण्डित सुदर्शन सुवेदी तथा स्थानीय युवा र सरोकारवालाहरुको सहभागिता रहेको थियो । प्राविधिक टोलीले बैकुण्ठे क्षेत्रको थ्रि.डी. चित्राकंनसहितको डि.पी.आर. तयार पारी पेश गर्ने बैकुण्ठे क्षेत्र रहेको वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

बैकुण्ठे क्षेत्रमा बालाचतुर्दशीको अवसरमा भव्य मेला लाग्नुका साथै दिनहुँजसो बनभोज टोली पुगिरहेको हुन्छ । वराह पुराणको १४८ अध्यायमा बैकुण्ठतीर्थमा स्नान गर्नाले सम्पूर्ण पापहरू नाश हुने र अन्त्यमा बिष्णुलोक जाने बर्णन गरिएको छ । द्वापर युगमा भगवान श्रीराम बनवास जाने क्रममा सो कुण्डमा स्नान गरी हरिहर क्षेत्रमा जानुभएको आनन्द रामायणको यात्रा काण्डमा बर्णित छ । यस्तो महत्वपूर्ण क्षेत्रको गुरुयोजना निर्माण गरी बृहत्तर विकास गर्न सके चितवनकै नेपालकै एक प्रमुख गन्तव्यस्थान बन्ने विश्वास गरिएको छ ।

SwadeshPost