वडा नं. ७, वडास्तरीय सार्बजनिक सुनुवाई गर्ने माडीको पहिलो वडा

122
SwadeshPost

माडी नगरपालिका वडा नं. ७ वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न गर्ने माडीको पहिलो वडा बनेको छ । आज (शुक्रबार) माडी नगरपालिका वडा नं ७ मा आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गत श्रावणदेखि कार्तिक महिनासम्मको चौमासिक अवधीमा वडामा नागरिकता, बसाइँसराई, नाता प्रमाणित, वैदेशिक रोजगारी सिफारिस आदिमार्फत संकलित १ लाख ८६ हजार ५५ रुपैंया राजस्वको विवरणसंगै वडाका योजनाहरुको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा नगरपालिकाले ठूला निर्माण साधनहरूकाे खरिद प्रकृयामा खर्च विवरण प्रष्ट नगरिएकोमा गुनासो उठेको थियो भने नगरपालिकाको निर्माण सामाग्रीले मात्र नभएर आफ्ना ट्याक्टर लगायतका सामाग्रीले काम गर्न पाउनुपर्ने माग राखिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

वडाको योजना अन्तरगत बोरिङमा ३३ लाख, शिक्षामा ७ लाख, कुलो सिंचाइमा ७ लाख, तटबन्धनमा १० लाख, खानेपानी व्यवस्थापनमा २ लाख लगायतका शीर्षकहरुमा रकम विनियोजन गरिएको सार्वजनिक गरिएको थियो । साथै १९ वटा उपभोक्ता समितिहरु गठन गर्नुपर्नेमा हालसम्म १५ वटा समितिहरु गठन भइसकेको र वडामा २ वटा कुलो निर्माणको काम पुरा भएको सापकोटाले जनाउनुभयो ।

वडाध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न सो सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ, माडी क्याम्पसका पूर्वप्रमुख एवं शिक्षासेवी घनश्याम भण्डारी, माडी नगरपालिका कार्यपालिका सदस्य कोपिला सिवाकोटी, वडा सचिव राधादेवी अधिकारी लगायतको आतिथ्यता रहेको थियो भने वडाबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

SwadeshPost