चितवन सहायता कोष बेल्जियमद्वारा झोला तथा स्टेशनरी सामग्री वितरित

320
SwadeshPost

चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा पुर्वी माडीको ४ वटा विद्यालयका १५१ जना विपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई मंगलबार झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

सामाजिक संस्था चितवन सहायता कोष बेल्जियम र चितवन सहायता समाज चितवनको आयोजना तथा माडी नगरपालिकाको समन्वयमा मंगलबार माडीका कृष्णनगर माध्यामिक विद्यालय, गणेश आधारभुत विद्यालय, आधारभुत विद्यालय गोविन्दबस्ती र आधारभुत विद्यालय कुसुमखोलाका १५१ जना विपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई झोला तथा कापीकलम वितरण गरिएको कार्यक्रम संयोजक समेत रहनुभएका माडी नगरपालिकाका सुचना अधिकृत प्रविण भण्डारी जानकारी दिनुभयो । जसअन्तरगत, गणेश आधारभुत विद्यालयका २० जना विद्यार्थीहरु, कृष्णनगर माध्यामिक विद्यालयका ३० जना विद्यार्थीहरु, कुसुमखोला आधारभुत विद्यालयका ३५ जना र आधारभुत विद्यालय गोबिन्दबस्तीका ६६ जना विद्यार्थीहरुको लागि प्रत्येकलाई झोलासहित आधा दर्जन कपी र २ वटा कलम वितरण गरिएको थियो ।

आधारभुत विद्यालय गोविन्दबस्तीको प्राङ्गणमा एक संक्षिप्त उद्घाटन समारोहका बिच चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेल सभाध्यक्ष रहेको सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख महतोले आधारभुत विद्यालय गोविन्दबस्तीको छात्राबासका विद्यार्थीहरुको उचित व्यवस्थापन र रेखदेख गर्न नगरपालिकाले एकजना होस्टेल वार्डेन राख्ने निर्णय गरेको जनाउनुभयो । उहाँले छात्राबासका विद्यार्थीहरुको खानपान, दैनिकि र खाद्यन्नको गुणस्तरीयतामा कमी हुन नदिन समेत सचेत गराउनुभयो ।

चितवन सहायता कोष बेल्जियमका निवर्तमान अध्यक्ष दिनेश प्रसाद भण्डारीको विशेष सहकार्यमा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका वडा नं ९ का वडाध्यक्ष शिवहरी सुवेदी, चितवन सहायता कोष बेल्जियमकी संस्थापक अध्यक्ष सीता सापकोटा, संस्थाका कार्यसमिति सदस्यहरु, चारवटै विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थपन समितिका अध्यक्ष, विद्यार्थीहरु, अभिभावहरु र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

SwadeshPost