समयमै उपचार नपाउँदा बाँदरझुलाका ११ जनाको ज्यान गयाे

121
SwadeshPost

समयमै उपचार नपाउँदा गत दुई बर्षभित्र माडीको विकट क्षेत्र बाँदरझुलाका ११ जना बिरामी तथा घाइतेहरुको असामयिक ज्यान गएको छ । बिरामी वा घाइते हुँदा समयमै उच्च अस्पताल पु-याउन नसकिएका ११ जनाको मृत्यु भएको बाँदरझुलास्थित सामुदायिक स्वास्थ्य इकाईले जनाएको हो ।

समयमै उपचार नपाई अस्पताल लैजान ढिलाई भई मृत्यु हुने बिरामीहरुमा जमुना बि.क. र सिताराम महतो, अचानक रक्तचाप बढ्दा रीता पोखरेल, बाघको आक्रमणबाट घाइते अवस्थामा होस प्रसाद महतो, प्रसुतीको समयमा मिना बि.क. र कोइलीमाया प्रजा, हात्तीको आक्रमणमा पर्दा घाइते अवस्थामा मन बहादुर परियार, सवारी दुर्घटनामा पर्दा घाइते अवस्थामा फुलमाया बोट, जुनु गरुङ र लाल बहादुर स्याङतान तथा बिष सेवन गरेकी देवी परियारको अस्पताल लैजाने क्रममा ढीला भई मृत्यु भएको हो । बिरामी एवं घाइते अवस्थामा अस्पताल पु-याउँदा ढीलाई भई स्वास्थ्यजन्य जटिलता भएकाहरुको तथ्यांक झनै ठूलो रहेको स्वास्थ्य इकाईका प्रमुख परुशन पासवानले जनाउनुभयो ।

बाँदरझुला क्षेत्रमा राम्रो उपचार सेवा रहेको स्वास्थ्य केन्द्र वा अस्पताल नहुँदा बिरामी तथा घाइतेहरुलाई करीब ८५ किलोमिटर टाढाको भरतपुर वा त्यत्तिकै दुरीमा रहेको बीरगंज लैजानुपर्ने अवस्था रहेको छ । करीब ३० किलोमिटरको दुरीमा रहेको बसन्तपुर बजारस्थित बघौंडा अस्पतालले समेत राम्रो सेवा दिन सकेको छैन । सार्वजनिक सवारी साधनहरु अत्यन्तै कममात्र चल्ने बाँदरझुला क्षेत्रमा बिरामीहरुलाई अस्पताल लैजान भार बनाई बोक्नुपर्ने वा मोटरसाइकलमा राखी कष्टपूर्ण तरिकाले लैजानुपर्ने अवस्था रहेको स्थानीय सामाजिक अगुवा तथा समयमै उपचार नपाउँदा श्रीमती गुमाउनुपरेका ऋषि पोखरेलको भनाई थियो । मोटरसाइकलजस्ता साधनमा बिरामीलाई अस्पताल लैंजाँदा चितवन राष्ट्रिय निकुञ्जका हात्ती र बाघजस्ता जनावरहरुको सन्त्रास समेत संगै रहने गरेको पोखरेलले जनाउनुभयो ।

बाँदरझुला क्षेत्रमा भौतिक विकास निर्माणमा चितवन राष्ट्रिय निकुञ्जको अवरोध रहेकाले त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात लगायतका संरचनाहरुमा माडी नगरपालिकाले लगानी गर्न सकिरहेको छैन । माडी, ठोरी वा भरतपुरका एम्बुलेन्सहरु बाँदरझुला जान नमान्ने र बिरामी तथा घाइतेहरुलाई समयमै अस्पताल पु-याउन नसक्दा हताहती बढेसंगै गाउँलेहरुकै प्रयासमा एम्बुलेन्स खरिदको प्रयास जारी रहेको छ । यसका लागि हरेक घरबाट पाँच पाँच सय रुपैंया संकलन भइरहेकोमा त्यसको योगफल करीब २ लाख हुने अनुमान गरिएको छ । सो करम एम्बुलेन्स खरिदका लागि अपर्याप्त हुने भएकाले बाँदरझुलाबासीहरु एम्बुलेन्स खरिदका लागि दाताको खोजीमा रहेको एम्बुलेन्स खरिद समितिका सचिव आशिष गोपाल परियारले जनाउनुभयो ।

SwadeshPost