शनि मन्दिरकाे खाडल पुर्न स्थानीयबासीहरुकाे श्रमदान

257
SwadeshPost

मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिरमा निर्माण भएको पर्खाल छेउको खाडल पुर्न स्थानीयबासीहरुले श्रमदान गरेका छन् । मन्दिरको उत्तरतर्फ निर्माण गरिएको पर्खाल छेउ रहेको खाडल पुर्न स्थानीय देबेन्द्रपुरबासीहरुले विगत तीनदिनदेखि भौतिक श्रमदान गरिरहेका हुन् ।

श्रमदान अन्तरगत माटो बोकेर खाडल पुर्ने तथा मन्दिर वरपर सरसफाई जारी रहेको हो । अझै दुईदिनसम्म श्रमदान जारी रहने मन्दिरका संरक्षक युवा पण्डित सुदर्शन सुवेदीले जनाउनुभयो । माडी नगरपालिका वडा नं. ७ कार्यालयले विनियोजन गरेको एक लाख रुपैंया बजेटबाट मन्दिरको संरक्षण तथा त्यसको क्षेत्रफल बढाउन पर्खाल लगाइएको थियो ।

यसैबिच, मन्दिर परिसरमा मार्बल लगाउन तथा १०८ शिवलिंग स्थापना गर्न बाँकी रहेको काम सुचारु भएको छ । माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप प्रदान गरेको १०८ वटा शिवलिंग गोलाकार स्वरुपमा दुई घेरामा राख्नेगरी निर्माणकार्य केहि समयअघि सुरु भएकोमा बिचमा रोकिएको थियो । आउँदो शिवरात्री सम्ममा सम्पूर्ण कामहरु पुरा गरी उद्घाटन गरिने संरक्षक सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost