रेवा त्रिवेणी क्षेत्र ‘रेवा त्रिवेणी धाम’ बन्दै

283
SwadeshPost

मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धाम बनाउन स्थानीयबासीहरु जुटेका छन् । सो क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा चिनाउन बृहत् माघी मेलासंगै श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५को आयोजना गरिएको छ । महायज्ञबाट संकलित श्रोतबाट शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाइने जनाइएको छ । माडीका आचार्य युवा पण्डित सुदर्शन सुवेदीद्वारा वाचन गरिने सो महायज्ञको पौष २५ गते बिहान ११ बजे विभिन्न झाँकीसहिताको कलश -यालीले बजार परिक्रमा गरी दिउँसो २ बजे समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी पौष २६ गतेदेखि हरेक दिन बिहान ७ बजेबाट ८ बजेसम्म पूजा अर्चना, बिहान ७ः३० बजेबाट ११ बजेसम्म भागवत पाठ पारायण, बिहान ११ः३० देखि दिउँसो ४ः०० बजेसम्म भजन कीर्तन, झाँकी र रेवा महिमा वाचन र कथा प्रवचन, दिउँसो ४ः०० देखि ४ः३० बजेसम्म आरती र फूलप्रसाद वितरण र बेलुका महात्मय, राष्ट्रिय कलाकारहरुबाट भजन कीर्तन र देव झाँकी प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । माघ १ गते अनन्तः शान्तिदीप प्रज्वलन, प्राण प्रतिष्ठा र माघी मेला तथा माघ २ गते हवन, तर्पण र महायज्ञ समापनको कार्यक्रम रहेको छ ।

त्यसैगरी पौष २६ गतेबाट माघ २ गतेसम्म अन्तर माडी भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । महायज्ञ भव्यतापूर्वक सम्पन्न गर्न झनक प्रसाद अधिकारीको संयोजकत्वमा रेवा त्रिवेणीधाम मकर संक्रान्ति उत्सव तथा महायज्ञ मुल आयोजक समिति गठन भइसकेको छ । महायज्ञको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost