बालिका सरस्वती सुनारको उपचार सुरु

214
SwadeshPost

समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सुरुवात भएको छ ।

माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनारको यतिखेर भरतपुर अस्पतालमा उपचार भइरहेको हो । उपचार खर्चका अभावमा उहाँ छट्पटिनुपरेको खबर स्वदेश एफ.एम.मार्फत प्रकाशन र प्रशारण भएसंगै सुनारलाई विभिन्न ठाउँहरुबाट सहयोग जुटिरहेको छ । सुनारको उपचारमा सघाउन समाजसेवी रविन्द्र सिंह ठकुरीले गर्नुभएको पहलबाट माडी नगरपालिका ५ ब्रम्हपुरीका खडग सुनार तथा माडी-६ का श्रीमन गुरुङ, खडग प्रसाईं, जित बहादुर श्रीपाईली र अर्जुन बिक्रम पोख्रेलबाट संयुक्त रुपमा रु ४,००० सहयोग प्राप्त भएको छ । त्यसैगरी पाठक कन्स्ट्रक्सन तथा बिश्वकर्मा बाबा ईन्जिनियरिङ वर्कशप बसन्तपुरका तर्फबाट रु ३,००० तथा माडी नगरपालिका वडा नं. ८ का राजकुमार परियार र भुपेन्द्र गिरीबाट रु १,००० सहयोग संकलित भएको छ ।

एपेन्डीसाइटिक्स फुटेर ठूलो आन्द्रा क्षेत्रमा फैलिएको अवस्थामा उहाँलाई भरतपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको थियो । बिरामी बालिकाको परिवारको आर्थिक श्रोत समेत अत्यन्त कमजोर रहेको र उहाँहरुलाई तत्कालै आर्थिक सहयोग वा श्रोतको खाँचो रहेको छ । बिरामी बालिका सरस्वती सुनार माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै बिरामीकी भाउजु प्रतिमा सुनारले सहयोगका लागि सार्वजनिक अनुरोध गर्नुभएको थियो भने रेडियोका तर्फबाट उहाँहरुलाई आर्थिक सहयोग समेत गरिएको थियो ।

SwadeshPost