माडीका युवा कृषक हरि पंगेनीः तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै

633
SwadeshPost

माडी रमाइलोडाँडाका किसान हरि पंगेनीले पंगेनी बहु आयामिक कृषि फर्म स्थापना गरी मनग्गे आम्दानी गरिरहनुभएको छ । हाल ३ बिगाहा क्षेत्रफल जमीनमा काउली, बन्दा, बोंडी, गाजर, मटर केराउ, मुला र धनियाँ खेती गरिरहनुभएका उहाँले स्थानीय बजार एवं नारायणगढमा तरकारी बिक्री गरी राम्रो आम्दानी गरिरहनुभएको हो ।

प्रति बिगाहा क्षेत्रफलमा पाँचदेखि ६ लाख रुपैंयाका दरले आम्दानी हुने गरेको कृषक पंगेनीले स्वदेश एफ.एम.लाई जनाउनुभयो । सुरुवातमा आफ्नो परिवारले निर्वाहमुखी तरिकाले थोरै क्षेत्रफलमा तरकारी खेती गरेकोमा २ बर्षअघि १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरिएको र त्यसबाट राम्रो आम्दानी भएपछि क्रमशः बढाउँदै लगेको युवा कृषक पंगेनीले जानकारी दिनुभयो । गतबर्ष १ बिगाहा हुँदै जारी बर्ष ३ बिगाहा क्षेत्रफलमा तरकारी खेती गरिरहेकोमा आउँदो बर्ष १० बिगाहामा तरकारी खेती बिस्तार गरी तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्ने कृषक पंगेनीको योजना रहेको छ ।

आफ्नो जमीन ५ कठ्ठा मात्र रहेको पंगेनीले अन्य सम्पूर्ण जमीन लीजमा लिएर तरकारी खेती गरिरहनुृभएको हो । गतबर्ष माडी नगरपालिका अन्तरगतको कृषि सेवा केन्द्रबाट अनुदानस्वरुप ३० हजार रुपैंया पाएको र अब स्थानीय सरकारबाट सहुलियत ऋणको अपेक्षा रहेको उहाँको भनाई थियो । सहुलियत ऋण नपाए अन्य श्रोतहरुबाटै भएपनि कम्तीमा १० जनालाई नियमित रोजगारी दिनसक्ने गरी काम गर्ने कृषक पंगेनीको योजना रहेको छ ।

SwadeshPost