माडी मा. वि का भूतपूर्व विद्यार्थीहरु सक्रिय हुँदै

496
SwadeshPost

माडीको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको माडी माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरु सक्रिय हुन थालेका छन् ।

गत माघ ५ गते माडी मा.वि. भूतपूर्व विद्यार्थी संगठनको पुनर्मिलन तथा अधिवेशन कार्यक्रमबाट चोकलाल (राजन) काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएसंगै संगठनका बैठक र गतिबिधीहरु अगाडि बढेको हो । समितिको पहिलो बैठकबाट हालसम्म माडी माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका विद्यार्थीहरुको लगत संकलन गर्ने, संगठनको उपस्थिति र इतिहास झल्काउने व्यानरहरु तयारी गर्ने र विधान तयार गर्ने काम अगाडि बढेको छ । त्यसैगरी पहिलो बैठकबाट सहसचिवको जिम्मेवारीमा गोमा परियार तथा सदस्यद्वयका रुपमा सुलभ बन्धु पोखरेल र अम्बिका लामिछानेलाई थप गर्ने समेत निर्णय भएको संगठनका अध्यक्ष काफ्लेले जनाउनुभयो । अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुँदा सो पदहरु खाली रहेको थियो ।

यसैबिच, भूतपूर्व विद्यार्थीहरुलाई जोड्न सामाजिक सञ्जालमार्फत अभियान थालनी गरिएको संगठनका सचिव शिव पाठकले जनाउनुभयो । सामाजिक सञ्जालमार्फत संगठनका सुचनाहरु आदानप्रदान गरिने र विद्यालयको शैक्षिक विकासका बिषयमा छलफल गरिने जनाइएको छ । माडीकै पुरानो शैक्षिक संस्थाका रुपमा रहेको सो विद्यालयबाट प्रवेशिका तथा अन्य कक्षाहरु उत्तीर्ण वा अध्ययन गरेका विद्यार्थीहरु भूतपूर्व विद्यार्थी संगठनमा स्वतः आवद्ध रहने प्रावधान रहेको छ । विद्यालयले आउँदो बर्ष मनाउन लागेको स्वर्ण महोत्सवको सन्दर्भमा भूतपूर्व विद्यार्थीहरुको भूमिका विशेष रहने विद्यालयले जनाएको छ ।

SwadeshPost