छोरीको दुबै मृगौला बिग्रिएपछि माडीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिंदै

427
SwadeshPost

४ बर्षदेखि श्रीमानले वास्ता नगरी हराइरहँदा भएको दुःखमाथि छोरीको दुबै मृगौला बिग्रिएर छोरी बिरामी हुँदा माडी ढिकुरबारीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिनु परेको छ ।

माडी नगरपालिका वडा नं. ५, ढिकुरबारीमा माइती रहेको उहाँको बुटवल निवासी बलबहादुर बिश्वकर्मासंग बिवाह भएको थियो । बिवाहपश्चात दुईजना सन्तान जन्मदाँसम्म राम्रै रहेको उहाँको परिवार तेश्रो सन्तानको जन्मसंगै उजाडिन सुरुवात भएको हो । कान्छी छोरीको जन्मसंगै उहाँका श्रीमान रक्सीको कुलतमा परी घरपरिवारको वास्ता गर्न छाडी बर्षौसम्म सम्पर्क बिहीन हुन थालेका हुन् ।

हाल कान्छी छोरी युना बि.क. चार बषकी भइन । तर उनी दुई बर्षको हुँदादेखि जीउ सुन्निने समस्या देखापर्न थालेसंगै उनको उपचार सुरुवात भएको थियो । उनको उपचारका लागि भरतपुर हस्पिटल, पुरानो मेडिकल कलेज र कान्ति बाल अस्पताल काठमाडौंमा लगिएकोमा उनको मृगौलामा समस्या रहेको देखिएको हो । अन्य दुई जना सन्तानको पालनपोषण र कान्छी छोरीको उपचारका लागि उहाँले रकमको जोहो गर्न रौतनी खोलामा गिट्टी जम्मा गरी बिक्री गर्ने गर्नुभएको छ ।

हाल युनाको मृगौलाबाट पानी बगेर पेटमा जम्मा हुने र त्यसकारण हात खुट्टा र ज्यान सुन्निने तथा श्वास प्रश्वास गर्न गाह्रो समस्या रहेकोले मृगौलाको मासु झिकी परीक्षण गर्नुपर्ने र त्यसपछि मात्रै उपचार अगाडी बढाउने चिकित्सकहरुको भनाई रहेको उहाँले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेको तथा दिनभर काम गरी साँझबिहान हातमुख जोर्नुपर्ने भएकाले युनाको उपचारमा सघाउन रीता विश्वकर्माले सबैमा अनुरोध गर्नुभएको छ ।

हालसम्म उहाँलाई माडी नगरपालिकाले २० हजार रुपैंया सहयोग गरेकोमा त्यो रकम पनि युनाको उपचारका लागि काठमाडौं लैजाँदा सकिएको जनाउनुभयो । उहाँलाई सघाउन चाहने सहयोगदाताहरुले जनता बैंक नेपाल लिमिटेडमा रीता बि.क.को नाउँमा रहेको खाता नं.०४८१०१०८४०६९८०१ मा सहयोग रकम जम्मा गर्न वा ९८६९७७६६९७ मा फोन सम्पर्क गर्न सक्नुहुन्छ ।

SwadeshPost