सुचना माग गरिएको २६ दिनसम्म पनि माडी न.पा ले भत्ता विवरणकाे तथ्यांक सार्वजनिक गरेन

199
SwadeshPost

माडी नगरपालिकाले जनप्रतिनिधी, कर्मचारी र लाभग्राहीहरुले बुझेको भत्ताको विवरण सार्वजनिक गरेन । नगरपालिकासंग माग गरिएको सुचनाको लिखित जवाफमा नगरपालिकाले कर्मचारी र पदाधिकारीहरुको भत्ता प्रदेश सरकार तथा नगर सभाको निर्णयानुसारको परिधभित्र रही दिएको जनाउँदै त्यसको तथ्यांक भने सार्वजनिक नगरेकाे हो ।

सार्वजनिक महत्वको सुचना माग गरिएको १५ दिनभित्र दिनुपर्ने बाध्यकारी कानुनी प्रावधान बिपरित नगरपालिकाले २६ दिनपछि माघ २३ गते सुचना पठाएको हो । यद्यपि नगरप्रमुख ठाकुर प्रसाद ढकालले हस्ताक्षर गरी उपलब्ध गराउनुभएको सो लिखित पत्रको मिति भने माघ ११ राखिएको छ । तर पत्रमा जनप्रतिनिधी, कर्मचारी र लाभग्राहीहरुले नगरपालिकाबाट लिएको भत्ताको विवरण उल्लेख गरिएको छैन । माडी नगरपालिकाको इतिहासमै पहिलोपटक स्वदेश एफ.एम.का लागि पत्रकार देव अञ्जान शाहले माडी नगरपालिकासंग जारी आर्थिक बर्ष २०७५/७६ को प्रथम र दोश्रो चौमासिक अवधीमा माडी नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी र अन्य लाभग्राहीहरुले लिएको सम्पूर्ण भत्ताको लिखित विवरण माग गर्नुभएको थियो ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले तलब सुबिधाका अतिरिक्त आफै आयोजक बनी विभिन्न तालिम र गोष्ठी आयोजना गरी आफै प्रशिक्षक एवं प्रशिक्षार्थी बनी तलबका अतिरिक्त दोहोरो भत्ता र अन्य सुबिधा लिइरहेको गुनासो बढेसंगै यसबारे सुचना मागिएको थियो । नेपालको संविधान, २०६३ को धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार कुनैपनि सार्वजनिक महत्वको सुचना माग गरी पाउने व्यवस्था रहेको छ ।

SwadeshPost