परमादेशप्रति आपत्ति जनाउँदै आन्दोलित माडीका युवाहरुद्वारा मौनसभा

186
SwadeshPost

सर्बोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण सम्बन्धि कुनैपनि काम नगर्न भनी दिएको परमादेशप्रति आपत्ति जनाउँदै आन्दोलित भएका माडीका युवाहरुले भरतपुरमा मौनसभा गरेका छन् ।

कार्यक्रममा ‘हामी माडीका वासिन्दा हौं, तस्कर होइनौं’, ‘निकुञ्ज वरदान सावित होस् अभिसाप होइन’ ‘अगाडी वढ़ मेयर,जनता साथमा छन्’ ‘मणि होइन, हामीलाई न्याय चाहियो’ लगायतका नारा लेखिएका प्लेकार्डको प्रदर्शनी तथा कालो व्यानर प्रदर्शन गरिएको थियो । माडी विकासका लागि युवा समुहको आह्वानमा भरतपुर क्षेत्रमा विभिन्न पेशा, व्यवसाय र अध्ययनमा रहेका माडीका युवाहरु मौनसभामा सहभागी भएको आयोजक समूहका अगुवा मिलन दीप पौडेललले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडीका युवा अगुवा एवं शिक्षक सुरज अधिकारीले माडीका जनताहरुले देशको सिमा र जंगल जोगाएको भन्दै उनले सुतेको बाघलाई नजिस्काउन चेतावनी दिनुभयो । कार्यक्रमका अर्का वक्ता सन्तोष पनेरुले नेकपा अध्यक्ष प्रचण्ड सहित सबै जनप्रतिनिधिहरुलाई साथमा लिएर अदालतको परमादेश र राज्य संरचनाहरुमा रहेको बिभेदकारी कानुनी जालोहरुलाई कुटनैतिक, राजनैतिक र भौतिक संघर्षको बलमा तोड्न जरुरी रहेकोमा जोड दिनुभयो । त्यसैगरी, कार्यक्रमका संयोजक समेत रहनुभएका युवा अगुवा मिलन पौडेलले अदालतको आदेशको नाममा विकाशमा अवरोध सिर्जना गर्ने काम भइरहेकाले आन्दोलन उत्रनुको विकल्प नरहेको जनाउनुभयो ।

आन्दोलनको थप कार्यक्रम तय गर्न भोलि फागुन ५ गते आइतबार बिहान भरतपुरस्थित वीरेन्द्र क्याम्पसमा बैठक बस्न लागिएको जनाइएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको थियो । युनेस्को लगायत सरोकारवाला निकायहरुको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र पर्ने गरी सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्न नगराउन सर्बोच्चले आदेश दिएको हो ।

SwadeshPost