निकुञ्जकै एक सेक्टरबाट अर्कोमा पहिलोपटक गैंडा स्थानान्तरण

208
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर भैरवपुर र बरुवाबासीहरुलाई निरन्तर दुःख दिइरहेको बुढो गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जका प्राविधिकहरुले नियन्त्रणमा लिएका छन् ।

बुढो भई घाइते तथा अशक्त अवस्थामा रहेको सो गैंडालाई निकुञ्जले सौराहामा उपचार गरी पदमपुर क्षेत्रको जंगलमा छोड्ने जनाएको छ । एक सेक्टरबाट नियन्त्रणमा लिइएको गैंडा सोही निकुञ्जकै अर्को सेक्टरमा छोडिने यो नै पहिलो घटना हुने जनाइएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको बनकट्टा रेञ्ज पोष्ट र स्थानीय समुदायको संयुक्त प्रयासमा गैंडालाई डाट गरी नियन्त्रणमा लिएर सौराहा सेक्टर पठाइएको हो ।

विगत डेढ महिनादेखि राती बस्ती छिर्दै आएको सो गैंडालाई दिउँसो हात्ती लगाएर निकुञ्जतर्फ धपाइरहनु परेसंगै भैरवपुर तथा बरुवा, सेरुवा र गर्दी क्षेत्रबासीहरु हैरान हुनु परेको थियो । सो गैंडाको आक्रमणबाट यसअघि एकजना स्कुले विद्यार्थी घाइते भएका थिए भने दिनभर बस्ती वरिपरी नै गैंडा डुल्ने गर्दा विद्यालय पठनपाठन एवं जनजीवन प्रभावित हुँदै आएको थियो ।

SwadeshPost