घाँघर पुलको शिलान्यास गर्न फागुन १२ गते नेकपा अध्यक्ष प्रचण्ड माडी आउनुहुने

648
SwadeshPost

मध्यपूर्वी माडीका घाँघर खोलामा पक्की पुलको शिलान्यास गर्न आउँदो फागुन १२ गते आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माडी आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले शिलान्यास गर्नुहुने भएसंगै माडीका खहरे खोलाहरुमा पुल निर्माण सम्बन्धी रोकिएको प्रक्रिया र काम अगाडि बढ्ने सम्भावना पनि बढेको छ ।

नारायणगढ माडी ठोरी हुलाकी सडक खण्डमा टुनामुना, घाँघर, परुई, बाँदरमुढे, मगोई, रिमाल, पतरे र बगहीँ खोलाहरुमा पुल बनाउने योजना रहेको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जद्वारा पुल निर्माणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेपनि चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण भौतिक निर्माण कार्य रोकिएको थियो । निकुञ्जले पुल निर्माणका लागि ‘आई.इ.ए.’ माग गरेकोमा त्यस भन्दा पनि बिस्तृत प्रतिवेदन ‘इ.आई.ए.ए.’ तयार गरिएको भएपनि काम अगाडी बढ्न सकेको थिएन । तर आउँदो फागुन १२ गते प्रचण्डले नै पुलको शिलान्यास गर्नुहुने भएसंगै रोकिएको काम अगाडि बढ्ने आशा बढेको हो ।

यसैबिच, पुल शिलान्यास कार्यक्रम व्यवस्थित गर्न माडी नगरपालिकामा तयारी बैठक सम्पन्न भएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नगर कार्यपालिकाका सदस्यहरु र नेकपा माडीका नेताहरुको संयुक्त बैठक बसी कार्यक्रम तयारी अगाडि बढाएको हो । त्यसैगरी माडी नगरपालिका वडा नं. ७ र ८ को संयुक्त बैठकले नेकपा अध्यक्ष प्रचण्डलाई स्वागत गर्न विभिन्न योजनाहरु बनाएको छ । प्रचण्डले पुलको शिलान्याससंगै कार्यकर्ता भेटघाट गर्ने र नवप्रवेशी नेता तीर्थराज भुसालको घरमा खाने कार्यक्रम सार्बजनिक गरिएको छ ।

SwadeshPost