माडी चिरौलीको जन्तीबस दुर्घटनाग्रस्त, १ को मृत्यु, २ गम्भीर घाइते (अपडेट)

136
SwadeshPost

पूर्वी चितवनबाट जन्ती लिएर माडीको चिरौली फर्किदै गरेको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका माडी नगरपालिका वडा नं. २, चिरौली निवासी अन्दाजी ३० बर्षीय मिथुन महतोको उपचारका क्रममा भरतपुरमा साँझ करीब ७ बजे मृत्यु भएको हो । दुर्घटनामा परेका माडी चिरौली क्षेत्रकै २० बर्षीया पुजा महतो र १४ बर्षीया क्षितिजा महतोको अवस्था समेत चिन्ताजनक रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र, ध्रब पोष्ट नजिकै साँझ करीब ५ः१५ मा भएको दुर्घटनामा अन्य करीब १० जनासमेत घाइते भएका छन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुमा किशोर उमेरका प्रकृति महतो, सकिना महतो, सपना महतो, बिशाल महतो, सुस्मिता महतो, सलिना महतो र बुद्ध महतो तथा अन्दाजी ५० बर्षीया गायत्री महतो रहनुभएको अस्पताल श्रोतले जनाएको हो । दुर्घटनामा परेको जन्तीबस आफै अनियन्त्रित भई पल्टिएको र बसका चालक फरार रहेको कसरास्थित नेपाली सेनाको बटुक दल गणले जनाएको हो ।

SwadeshPost