माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु

388
SwadeshPost

माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सुरुवात भएको छ । विद्यालयमा शिशुदेखि ५ कक्षासम्म अध्ययन गरिरहेका दलित तथा बिपन्न विद्यार्थीहरुलाई दिउँसो खाजा खुवाउने कार्यक्रम सुरुवात गरिएको विद्यालयका शिक्षक भविश्वर ढकालले जानकारी दिनुभयो । माडी नगरपालिका वडा नं. ५ कार्यालयको ४० हजार रुपैंया आर्थिक सहयोगमा दिवा खाजा कार्यक्रम लागु गरिएको हो ।

मुख्यतः दलित र बिपन्न वर्गका विद्यार्थीहरुले अध्ययन गर्दै आएका सो विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएसंगै विद्यार्थीहरुको हाजिरी नियमित हुने र त्यसबाट विद्यालयको समग्र शैक्षिक नतीजा राम्रो हुने विद्यालयले विश्वास लिएको छ । हाल वडा कार्यालयको ४० हजार बजेटबाट सुरुवात भएपनि त्यसको निरन्तरताका लागि अन्य श्रोतहरुको खोजी जारी रहेको विद्यालयका प्रधानाध्यापक गंगाराम रानाभाटले जनाउनुभयो ।

यसैबिच, दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेको मध्यपूर्वी माडीको दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयमा दिवा खाजा खुवाउन आर्थिक सहयोग मिलेको छ । विद्यालयको बाल विकास केन्द्रका बालबालिकाहरुको लागि दिवा खाजा खुवाउन रत्ननगर निवासी लेखराज पौडेल र दिपक बगालेले रु १/१ हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको हो ।

SwadeshPost