माडीको स्वास्थ्य सेवामा योगदान गरेकोमा डेनिस नागरिक पिटर्सन सम्मानित

440
SwadeshPost

मध्यपूर्वी माडीको कान्तिपुर, इन्द्रबस्ती र दक्षिण अयोध्यापुरी क्षेत्रमा स्वास्थ्य सेवामा विशेष योगदान गर्नुभएकी डेनिस नागरिक लोने पिटर्सनलाई सम्मान गरिएको छ ।

अयोध्यापुरी स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आयोजित एक संक्षिप्त कार्यक्रममा डेनिस स्वयम्सेवी संस्था जे.वाई.एस.के.की परियोजना प्रमुख समेत रहनुभएकी पिटर्सनलाई सम्मान सहित बिदाई गरिएको हो । लोने पिटर्सनको विशेष पहलमा अयोध्यापुरी स्वास्थ्य चौकीमा सुत्केरी गराउने अत्यधुनिक मेसिनहरु एवं बेड आउन लागेको भन्दै स्वास्थ्य चौकीले उहाँलाई सम्मान एवं बिदाई गरेको हो । सो कार्यक्रममा माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, माडी नगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख शिव सुवेदी, जनजीवन मा.वि.का प्रधानाध्यापक शोभाखर गौतम, स्वास्थ्य चौकी प्रमुख प्रज्ञा के.सी., माडीका स्वास्थ्यकर्मीहरु र डेनिस स्वयम्सेवीहरुको सहभागिता रहेको थियो ।

यसपटकको माडी यात्राका क्रममा पिटर्सनको संस्थाले माडी नगरपालिकासंगको सहकार्यमा खानेपानी बिस्तारको कार्ययोजना अगाडि बढाएको छ । करीब ४ करोडको लगानी आँकलन रहेको सो योजनाले माडी नगरपालिका वडा नं. ८का अधिकांश घरहरुमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको खानेपानी बिस्तार हुने जनाइएको छ ।

SwadeshPost