माडीको मगोई नदीमा पुल निर्माणका लागि प्राविधिक लेआउट सम्पन्न

254
SwadeshPost

माडीको मगोई नदीमा पुल निर्माणका लागि आज प्राविधिक अध्ययन टोलीले स्थलगत लेआउट गरेको छ । करीब ९५ मिटर लम्बाई रहने सो पुल निर्माणका लागि लोहनी एण्ड ब्रदर्श कन्स्ट्रक्सनले ठेक्का पाएको हो ।

मगोई पुलको निर्माणकार्य अन्तरगत आउँदो चैत पहिलो हप्ताबाट फाउण्डेशन खाल्डो खन्न सुरु गरिने कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । स्थलगत लेआउटका लागि फिल्डकार्यमा ठेकदार पक्षसंगै माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतो र बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतो लगायतको सहभागिता रहेको थियो । नारायणगढ माडी ठोरी हुलाकी मार्गमा पर्ने अधिकांश खोलाहरुमा पुल निर्माण कार्य अगाडि बढेको सन्दर्भमा मगोई नदीमा पनि दुईतर्फी पक्की पुल बन्न लागेको हो ।

यसअघि मगुई नदीको पुल निर्माणका लागि वातावरणीय प्रभाव मुल्यांकन (ई.आइ.ए.) पुरा नभएको भन्दै चितवन राष्ट्रिय निकुञ्जको अवरोध रहेकोमा ई.आई.ए. लगायतका कानुनी प्रक्रिया पुरा गरी निर्माणकार्य सुरुवात गर्न लागिएको ठेकदार पक्षको भनाई छ । मगोई पुलको निर्माणसंगै माडीको बसन्तपुर लगायतका पूर्वी क्षेत्रका गाउँ र बजारहरुमा यातायात सेवा सहज हुन सक्नेछ । हाल खोलाबाटै यातायातका साधनहरु वारपार हुनु परिरहेको छ भने बर्षायामा बाढी आउँदा सवारी आवागमन अवरुद्ध हुँदै आएको छ ।

यसैबिच, पूर्वी माडीको परुई खोलामा पक्की पुलको शिलान्यास हुन लागेको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउँदो चैत्र १ गते परुई खोला पुलको शिलान्यास गरिने जानकारी दिनुभयो ।

SwadeshPost