जनजीवन र पाण्डवनगर स्कुलमा २/२ कोठे विद्यालय भवन निर्माण हुने

157
SwadeshPost

माडी नगर शिक्षा समितिको बैठकले जनजीवन माध्यमिक विद्यालय, खरकट्टा र राष्ट्रिय आधारभूत विद्यालय पाण्डवनगरमा २/२ कोठे विद्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले विद्यालय भवनहरु निर्माणको सो निर्णयसंगै दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा बिज्ञान प्रयोगशाला तथा माडी माध्यमिक विद्यालय बसन्तपुरमा ई-लाइब्रेरी निर्माण गर्ने समेत निर्णय गरेको हो । विज्ञान प्रयोगशाला र ई लाइब्रेरी निर्माणको लागत जनही ६ लाख ५० हजार रुपैंया रहेको जनाइएको छ ।

त्यसैगरी, बैठकले माडीमा सञ्चालित विद्यालयहरु समायोजनका लागि नगर उपप्रमुख ताराकुमारी काजी महतोको संयोजकत्वमा विद्यालय समायोजन कार्यदल समेत गठन गरेको छ । त्यस्तै, नर्सरीदेखि कक्षा ३ सम्मको न्यूनतम सिकाई उपलब्धी निर्धारणका लागि शिव पाठक, रञ्जना प्रधान, समा पन्त, भेषराज सुवेदी लगायतका शिक्षकहरु सदस्य रहनुभएको छुट्टै कार्यदल समेत गठन गरिएको नगर शिक्षा समितिका प्रतिनिधी ऋषि काफ्लेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost