वाइन टु वाटर नेपालद्वारा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरित

621
SwadeshPost

वाइन टु वाटर नेपालले पूर्वी माडीको प्याउली गाउँमा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरण गरेको छ ।

माडी नगरपालिका वडा नं. ९ कार्यालयको समन्वयमा प्याउली गाउँबासीहरुलाई फिल्टर वितरण गरिएको वाइन टु वाटर नेपालकी कार्यक्रम व्यवस्थापक रोशनी कार्कीले जानकारी दिनुभयो । प्याउली क्षेत्रमा कुसुमखोलाबाट बसाइ सरी आएका करीब ५० घरपरिवारको नयाँ बसोबास रहेको छ । शुद्ध पिउने पानीको अभावमा प्याउलीबासीहरुले रीउ नदीको पानी पिउन बाध्य हुनुपरेकाले पानी प्रशोधन गर्ने फिल्टर वितरण गरिएको व्यवस्थापक कार्कीको भनाई छ ।

प्याउली गाउँमा ४८ वटा फिल्टर वितरण गरिएको हो । फिल्टर वितरण कार्यक्रममा वाइन टु वाटर नेपालका प्रतिनिधीहरुसंगै माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी र १५ जना अमेरिकी स्वयम् सेवकहरुको उपस्थिति रहेको थियो । गाउँलेहरुलाई फिल्टरबाट पानी प्रशोधन गर्ने विधीबारे तामिल प्रदान समेत गरिएको वाइन टु वाटर नेपालका इञ्जिनियर गुणेश्वर महतोले जनाउनुभयो । यसैबिच, खरिकुना गाउँमा पनि फिल्टर वितरणको कार्यक्रम रहेको भएपनि समयाभावका कारण स्थगित भएको जनाइएको छ ।

SwadeshPost