आगामी ४ बर्षमा माडी कायापलट गर्ने प्रचण्डको आश्वासन (भिडियो सहित)

222
SwadeshPost

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा आकाशे पुलदेखि बाँदरमुढे पार्क बनाई आगामी ४ बर्षमा कायापलट गर्ने आश्वासन दिनुभएको छ । माडी क्याम्पसको प्रथम ऐतिहासिक क्याम्पस–सभाको उद्घाटन गर्दै नेकपा अध्यक्ष प्रचण्डले माडीको विकास लागि आफू सधै तप्पर रहेको भन्दै उहाँले आगामी चार वर्षमा माडीको कायापलट हुने दावी गर्नुभएको हो ।

बाँदरमुढेमा पार्क बनाउन दश करोड रुपैयाँ छुट्याइएको जानकारी दिँदै उहाँले बहुवर्षीय योजना अन्तर्गत ध्रुब घाटदेखि वनकट्टासम्म आकाशेपुलको लागि गृहकार्य भइरहेको र बाटो कालोपत्रे तुरुन्तै गरिने जनाउनुभयो । मानिसमुखी निकुञ्ज ऐन बनाउन आफु संसदमा नै आन्दोलन गर्ने उहाँको जिकीर थियो । हुलाकी मार्गलाई तटबन्धन र रिंगरोडसँग जोड्ने कामको प्रकृया अगाडि बढिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या समाधानको निम्ति सरकार गठन भएदेखि नै प्राथमिकतामा राखेर छलफल भइरहेको दाबी गर्नुभयो । सुकुम्बासी सम्बन्धी विधेयक समितिमा दर्ता भइसकेको र छलफलको अन्तिम चरणमा रहेको उहाँले बताउनु भयो । नापी भएको तर लालपूर्जा नपाएका जमीनको तुरुन्तै लालपूर्जा दिने, नापी नभएको तर वर्षौंदेखि खेती गर्दै आएकालाई मिलेसम्म लालपूर्जा दिने र सुरक्षाको हिसाबले लालपूर्जा दिन नमिल्नेलाई स्थानान्तरण गर्ने व्यवस्था विधेयकमा गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिज्ञान, प्रविधी तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले माडीलाई प्राबिधिक शिक्षाको हब बनाउनुपर्ने बताउनुभयो । माडी क्याम्पसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले विदेशमा गई उच्च शिक्षा लिनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशमै चाहे जस्तो शिक्षा लिन सक्ने व्यवस्था मिलाउन शिक्षा मन्त्रालय लागि परेको जनाउनुभयो । त्यसैगरी भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले अन्तरदेशीय ठोरी केरुङ लोकमार्गले माडीको मुहार फेर्ने विश्वास व्यक्त गर्नुभयो । माडीको विकासमा आफ्नो यथासक्य योगदान रहने उहाँको भनाई थियो

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थराज भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व शिक्षामन्त्री धनीराम पौडेल, संघीय साँसद कृष्णभक्त पोखरेल, प्रदेश साँसद घनश्याम दाहाल अविनाश र रामलाल महतो, भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहाल, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । आज मंगलबार उद्घाटन भएको क्याम्पस सभाको बन्द–सत्र भोलि बुधबार क्याम्पसको सभाहलमा सञ्चालन हनेछ ।

SwadeshPost