सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना अभियान – २०७६ सुरु

521
SwadeshPost

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऔं भन्ने नारासहित माडीका सामुदायिक विद्यालयहरुमा विद्यालय स्वागत तथा नयाँ विद्यार्थी भर्ना अभियान २०७६ सुरु भएको छ ।

माडीमा रहेका आधारभूत तहदेखि माध्यमिक तहसम्म सञ्चालनमा रहेको सम्पूर्ण विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना अभियान सुरु भएको हो । अभियान अन्तरगत विद्यालयका सेवा क्षेत्रमा रहेको नयाँ विद्यार्थीहरुको खोजी वं घरभेट गरी विद्यालयमा भर्ना गरिने विद्यालयहरुले जनाएका छन् ।

यसैबिच, गतबर्ष २०७५ सालमा पुरा भएको शैक्षिक सत्रको समग्र समीक्षाको लागि माडी नगरपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । भोलि (सोमबार) बिहान ११ बजे माडी क्याम्पसको सभाहलमा शैक्षिक वर्ष २०७५को समीक्षा तथा आगामी शैक्षिक बर्षको रायसल्लाह संकलनका लागि अन्तरक्रिया आयोजना गरिएको माडी नगरपालिकाका शिक्षा प्रमुख समेत रहनुभएका उपसचिव बद्री नारायण शर्माले जनाउनुभयो । कार्यक्रममा नगर शिक्षा समिति र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिका पदाधिकारी, सबै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र माध्यमिक विद्यालयहरुबाट एस.ई.ई. दिएका तथा कक्षा ९ मा अध्ययन गरिरहेका एक एक जना विद्यार्थीहरुलाई आमन्त्रण गरिएको छ ।

SwadeshPost