कुसुमखोलाको चेपाङ् समुदाय सहज जीवनयापनको खोजीमा बसाई सर्दै

263
SwadeshPost

कुसुमखोलामा दुखजिलो जीवनयापन गरिरहेको चेपाङ् समुदाय सहज बसाइको खोजीमा ईन्द्रबस्ती र जीवनक्षेत्रमा बसाई सर्न थालेका छन् । रीउको बाढी र जंगली जनावरको निरन्तरको आक्रमणबाट आजित भएका माडी कुसुमखोलाबासीहरु सहज जीवनयापन, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत आवश्यकताको सहज पहुँच खोज्दै बसाई सरिरहेका हुन् ।

माडी नगरपालिका वडा नं. ८, ईन्द्रबस्ती र साविकको जीवनपुर आधारभूत नजिकैको ठाउँहरुमा अस्थायी टहरा निर्माण गरी कुसुमखोलाबासीहरु बसाइ सर्न थालेको र हालसम्म सो क्षेत्रमा ९३ घरधुरी कुसुमखोलाबासीहरु बसाई सरिसकेको कुसुमखोला बस्ती व्यवस्थापन समितिका अगुवा छवि चेपाङले जानकारी दिनुभयो । कुसुमखोलाबासीहरु बसाई सरी आएको सो क्षेत्रमा घाँघर खोलाको कटान सम्भावना रहेकाले त्यसको तटबन्धन, शुद्ध पिउने पानीको व्यवस्था र सुरक्षित बास बसाईको प्रवन्ध गरिदिन उनीहरुले स्थानीय सरकारसंग माग समेत गरेका छन् ।

यसअघि, करीब ४० घर कुसुमखोलाबासीहरु प्याउलीमा बसाई सरिसकेका छन् । अझै करीब ३५ घरपरिवार कुसुमखोला क्षेत्रमै रहेको र उनीहरु पनि माडीको मुलभूमिमै बसाई सर्न तयारी गरिरहेको जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित भूमिका रुपमा सुचिकृत गरेको कुसुमखोलामा सरकारी पक्षबाट कुनैपनि खालको विकास निर्माण कार्य अगाडी बढाउन अवरोध रहँदै आएको थियो ।

– स्वदेशकर्मी दुर्गा अधिकारी र भूपेन्द्र गीरिको रिपोर्टिङ्ग

SwadeshPost