माडी नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु

475
SwadeshPost

माडी नगरपालिका कार्यालयले नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु गरेको छ । नगरपालिकाको आयोजना तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुर एवं हिमालयन एनिलम रेस्क्यु ट्रष्ट (हार्ट) नेपालको सहयोगमा माडीका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु भएको हो ।

अभियान अन्तरगत हार्ट नेपालका प्राविधिकहरुले माडीका मुख्य बजार क्षेत्रमा रहेका भुस्याहा कुकुरहरु समाती बन्ध्याकरण गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । सुरक्षित तरवबाट समातिएका भुस्याहा कुकुरहरु बन्ध्याकरण गरी छाडिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

यसअघि, माडीको बजार क्षेत्रमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै सडक दुर्घटना बढेको थियो भने रेबिज लगायतका रोगको संक्रमणको जोखिम उच्च रहेको थियो । माडीको बसन्तपुर र बरुवासंगै सेरुवा, चिरौली चोक, कल्याणपुर, किर्तनपुर, देबेन्द्रपुर, खरकट्टा, कृष्णनगर, बगहीँ लगायतका व्यापारिक केन्द्रहरुमा भुस्याहा कुकुरहरुको संख्या अत्यधिक रहेको छ । कुकुरहरुका कारण मोटरसाइकल यात्रुहरुसंगै पैदल यात्रीहरु तथा स्थानीयबासीहरु समेत प्रभावित हुँदै आएका थिए ।

SwadeshPost