चक्रवात फानीको प्रभाव: चितवनसंगै देशका धेरै ठाउँको मौसममा बदली

126
SwadeshPost

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभावका कारण माडी र चितवनसंगै देशका धेरै ठाउँको मौसममा बदली आएको छ । आज शुक्रबार बिहानै हावाहुरी चल्नुका साथै मेघगर्जन र चट्याङ सहितको बर्षा भएको हो । जल तथा मौसम बिज्ञान विभागको तथ्यांकअनुसार आज बिहान १ घण्टाको अवधीमा माडीको हरिनगरस्थित बर्षामापन केन्द्रमा २३.४ मिलिमिटर तथा ठोरीमा २५.८ मिलिमिटर बर्षा भएको थियो । चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना समेत रहेको मौसमविदहरुले बताएका छन् ।

यसैबिच, एकाबिहानै मौसम खराब भएसंगै माडीका शैक्षिक संस्थाहरुमा पठन पाठन प्रभावित भएको छ । मौसमी प्रतिकूलताका कारण माडीका संस्थागत विद्यालयहरु बन्द गरिएका थिए भने कतिपय सामुदायिक विद्यालयहरु समेत बन्द रहेका थिए । विद्यालय जाने समयमा हावाहुरीसंगै बर्षा भएका कारण विद्यार्थीहरुलाई विद्यालय जान अप्ठ्यारो परेको थियो । बर्षा र हावाहुरीका कारण आंशिक रुपमा बजार, व्यवसाय र जनजीवन समेत प्रभावित भएको छ । दिउँसोपख एकछिन हल्का घाम लागेपनि दिनभरजसो बादल लागेकाले केहि दिनअघिदेखि बढेको तापक्रम भने घटेको छ ।

SwadeshPost