ठोरी प्रहरीद्वारा मदिरा सेवन र बिक्रीवितरणमा आचारसंहिता जारी

136
SwadeshPost

भारतीय राज्य बिहारबाट सीमावर्ती नेपाली बजार ठोरीमा आई मदिरा सेवन गर्नेहरुका लागि ठोरी प्रहरीले आचार संहिता जारी गरेको छ ।

ठोरी प्रहरीले भारतीय ग्राहकहरुलाई मदिरा बेच्ने नेपाली होटल तथा खाजा घरहरुलाई लक्षित गरी मदिरा सेवन र बिक्रीवितरणको आचारसंहिता जारी गरेको हो । स्थानीय सरोकारवालाहरुसंगको राय परामर्श अनुसार नै सशस्त्र र जनपद प्रहरीले संयुक्त रुपमा जारी गरेको सो आचारसंहिता अनुसार मदिरा बिक्रीवितरण र सेवनका लागि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म निश्चित गरिएको छ । त्यसैगरी आचारसंहितामा अधिक मात्रामा मदिरा सेवन नगर्न, मदिरा सेवन गरी सवारी साधन नचलाउन, सार्वजनिक स्थानमा फोहोर नगर्न, झैझगडा नगर्न र नेपालको कानुनले दण्डनीय मानेका अन्य खराब काम नगर्न पनि उल्लेख गरिएको छ ।

बिहार सरकारले आफ्ना नागरिकहरुलाई मदिरा सेवन तथा बिक्रीवितरणमा प्रतिबन्ध लगाएसंगै सीमावर्ती अन्य नेपाली बजारहरुसंगै ठोरीमा पनि भारतीयहरुको भीडभाड हुने गरेको छ । भारतीय ग्राहकहरुका कारण नेपाली व्यापारीहरुलाई फाइदा पुगेको भएपनि यसका कारण शान्ति सुरक्षामा प्रत्यक्ष असर परेको, रक्सी सेवन गरेकाहरु मात्तिएर झैझगडा गर्ने तथा अपशब्द बोल्ने गरेको र अन्य विभिन्न खालका सामाजिक समस्याहरु सिर्जना भएको गुनासो बढ्दै जाँदा ठोरी प्रहरीले आचारसंहिता जारी गरेको हो ।

SwadeshPost