पूर्वी माडीको प्याउली गाउँमा नमुना बस्ती निर्माण हुँदै

333
SwadeshPost

तेजा ढुंगाना, चितवन । बाढीले बिस्थापित भई निर्जन बनिसकेको पूर्वी माडीको प्याउली गाउँमा कुसुमखोलाबाट चेपाङ समुदाय बसोबास गर्न आइपुगेसंगै त्यहाँ नमुना बस्ती निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

माडी नगरपालिका र वडा नं. ९ कार्यालयसंगको सहकार्यमा सुन्दर नेपाल सरसफाई अभियानले एकीकृत नमुना बस्ती निर्माणको दीर्घकालीन योजना अन्तरगत प्याउलीमा विविध परियोजनाहरु सञ्चालन गरिरहेको हो । यसै सन्दर्भमा प्याउलीबासीहरुको आयआर्जनमा सघाउन सिपमुलक तालिम अन्तरगत एक हप्ते झोला र गुडिया बनाउने तालिम सञ्चालन गरिएको छ ।

तालिम अन्तरगत माडी नगरपालिका वडा नं. ९, प्याउलीका हरेक घरबाट एक जनाको दरले ७६ जनालाई गुडिया, झोला र बुट्टेदार ऐना लगायतका सामान बनाउने तालिम दिइएको हो । तालिमका क्रममा र तालिम पश्चात प्याउलीबासीहरुले तयार गर्ने हस्तकलाका सामग्रीहरु सुन्दर नेपाल अभियानले नै खरिद गरी बजार व्यवस्थापन गरिदिने अभियानका प्रमुख वीर बहादुर तामाङले जानकारी दिनुभयो ।

सो तालिमको आज बिहीबार औपचारिक समापन गरिएको छ । अभियानका प्रमुख तामाङको अध्यक्षता तथा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल तथा माडी ९ का वडाध्यक्ष शिवहरी सुवेदीको विशिष्ट आतिथ्यमा तालिमको समापन गरिएको हो ।

SwadeshPost