एस.ई.ई.मा जनजीवनकी छात्रा सोनु अधिकारी ३.८५ जीपीए सहित माडी प्रथम

640
SwadeshPost

गतबर्ष चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)को नतिजामा जनजीवन माध्यमिक विद्यालय खरकट्टाकी छात्रा सोनु अधिकारीले सर्बाधिक ३.८५ जीपीए हासिल गरी प्रथम हुनुभएको छ । पिसल्याण्ड अंग्रेजी विद्यालयका छात्र सञ्जय पौडेल ३.८० जीपीए सहित छात्रहरुमध्ये पहिलो हुँदै समग्रमा दोश्रो हुनुभएको छ ।

त्यस्तै माडी माध्यमिक विद्यालयका छात्र सुयोग वाग्लेले ३.७० जीपीए प्राप्त गरी तेश्रो स्थान हासिल गर्नुभएको छ भने दिवाकर स्मृति विद्यालय छात्र निशान रामदाम र सोमेश्वर माध्यमिक विद्यालयका छात्र अजय अन्सारीले समान ३.६५ जीपीए प्राप्त गर्नुभएको छ ।

गत चैतमा सञ्चालन भएको एस.ई.ई. परीक्षामा माडी उपत्यकाभर छात्रा २३४ जना र छात्र २१२ जना गरी कुल ४४६ जना परीक्षार्थीहरु सहभागी रहेका थिए । माडीमा रहेका माध्यमिक तहका शैक्षिक संस्थाहरुमध्ये माडी मा.वि.बाट ५६, जनजीवन मा.वि.बाट ६६, कृष्णनगर मा.वि.बाट ४२, पिसल्याण्ड इंगलिस स्कुलबाट २४, दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाबाट १३, सोमेश्वर मा.वि.बाट ११२, जनकल्याण मा.वि.बाट ८०, विद्याज्योति अंग्रेजी विद्यालय बरुवाबाट २० र खैरहनी माध्यमिक विद्यालयबाट ३४ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी भएका थिए । परीक्षामा अनुत्तीर्ण नहुने ग्रेड नीतिका कारण सम्पूर्ण परीक्षार्थीहरु फरक फरक ग्रेडमा उत्तीर्ण भएका छन् ।

SwadeshPost