माडीका शिक्षक शिक्षिकाहरु पाँच बर्षसम्म अन्यत्र सरुवा हुन नपाउने

366
SwadeshPost

माडीका स्कुलहरुमा सरुवा भई आएका शिक्षक शिक्षिकाहरु पाँच बर्षसम्म शिक्षण नगरी अन्यत्र सरुवा हुन नपाउने भएका छन् ।

माडी नगरपालिका शिक्षा समितिको बैठकले नगरक्षेत्रका कुनैपनि विद्यालयमा कम्तीमा पाँचबर्ष शिक्षण सेवा नगरी सरुवा हुन नपाउने निर्णय गरेको हो । त्यसैगरी शिक्षक सेवा आयोगमार्फत हालै नियुक्ति पाएका शिक्षकहरु माडीकै अर्को विद्यालयमा सरुवा हुन पनि दरबन्दीको विद्यालयमा कम्तीमा २ बर्ष शिक्षण सेवा पुरा गरेकै हुनुपर्ने नीति बनेको हो ।

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भ मार्फत बैठकका निर्णयहरु सार्वजनिक गर्दै जनकल्याण माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षद्वय क्रमशः शुरेस बहादुर थापा र श्याम पौडेललाई सम्मानित गरिने समेत जनाउनुभयो । माडी नगरपालिकाले सञ्चालन गरेका सम्पूर्ण योजना तथा कार्यक्रमहरुको कन्टेन्जेन्सी शीर्षकमा संग्रहित बजेटको २० प्रतिशत रकम नगरपालिकाले अभिभावकविहीन विद्यार्थीहरुको पठन पाठनका लागि बनाएको शैक्षिक कोषमा दाखिला गरिने उहाँको भनाई थियो ।

बैठकले एस.ई.ई. परीक्षामा ३.६ र सोभन्दा धेरै जि.पि.ए. हासिल गरेका माडीका सम्पूर्ण विद्यार्थीहरु, बिषयगत उत्कृष्ट हुने शिक्षकहरु र उत्कृष्ट नतीजा ल्याउने विद्यालयहरुलाई नगर सभाको समापन कार्यक्रमको सन्दर्भमा पुरस्कृत गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, माडी माध्यमिक विद्यालयलाई उच्च माध्यमिक तहमा बिज्ञान बिषय सञ्चालनको स्वीकृति प्रदान गर्ने तथा माडीको शिक्षामा विशिष्ट योगदान गर्ने शिक्षासेवीलाई अढाई तोला सुनको तक्मायुक्त माडी शिक्षा पदक प्रदान गर्ने निर्णय समेत गरिएकोे उहाँले जानकारी दिनुभयो ।

SwadeshPost