माडी न.पा ले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने

696
SwadeshPost

दुग्ध उत्पादनमा अनुदान दिँदै आएको माडी नगरपालिकाले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने भएको छ ।

नगरपालिकाको तेश्रो नगरसभाले आउँदो आर्थिक बर्ष २०७६/७७ मा बाख्रापालक कृषकहरुलाई मासुजन्य उत्पादनमा प्रतिकिलो २५ रुपैंया तथा च्याउ खेती गर्ने कृषकलाई प्रतिकिलो ५ रुपैंया अनुदान दिने निर्णय गरेको हो । माडीको बसन्तपुरमा रहेको कृषि उपज संकलन केन्द्रमार्फत बिक्री हुने च्याउमा यो अनुदान लागु हुने जनाइएको छ । दुधमा गत आर्थिक बर्षदेखि नै दिइआएको प्रतिलिटर ३ रुपैंया अनुदान आगामी आर्थिक बर्षमा समेत यथावत रहनेछ ।

अनुदानसहित समग्र कृषि क्षेत्रको विकासका लागि नगरसभाबाट ४ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । सो बजेटबाट भैंसी प्रजनन केन्द्र स्थापनको बीउपुँजी, तरकारी खेती, धानखेती, बेमौसमी तरकारी खेती, कोदोबाली प्रवर्धन लगायतका कार्यक्रम समेत सञ्चालन हुनेछन् । सामुहिक कृषि उत्पादनलाई बढावा दिने नीति पारित गरेको नगरपालिकाले अनुदान वितरणको पूर्ण कार्यबिधी बनाउन भने बाँकी रहेको छ ।

SwadeshPost