निकुञ्जभित्र कसरादेखि देउराली डाँडासम्मको बाटो बिजाेग

490
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र कसरादेखि ध्रुवापोष्ट नजिकै देउराली डाँडासम्मको बाटो मर्मत नहुँदा सडक यातायात प्रभावित भइरहेको छ । सो खण्डको बाटोमा खाल्डाखुल्डी परेको र पानी जमेको कारण दुइपाङ्ग्रे र साना तथा ठूला सवारी साधन चलाउँदा समस्या परिरहेको हो । बनकट्टाबाट देउराली डाँडोसम्म करीब ४ किलोमिटर सडकखण्ड राम्रै अवस्थामा रहेपनि बाँकी सडक खण्डको मर्मत हुन नसक्दा यातायात सेवा प्रभावित भइरहेको देखिन्छ ।

गत असार पहिलो साता नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको बगहीँ–अमुवा र बनकट्टा-कसरा खण्डमा सडक मर्मत कार्य पुरा भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले सडक स्तरोन्नतिका लागि विनियोजन गरेको ६० लाख रुपैंया मध्ये ३०/३० लाख रुपैंया बजेटबाट बाटो स्तरोन्नति गरिएको हो । सो बजेटबाट बगहीँ-अमुवा खण्डमा स्टीमेट भन्दा ३ किलोमिटर बढी (करीब ८६०० मिटर) स्तरोन्नति गरिएपनि बनकट्टा–कसरा खण्डमा भने स्टीमेट बराबर नै काम भएको हो ।

अघिल्लो बर्ष भने केवल २० लाख रुपैंया बजेटबाटै बनकट्टा-कसरा खण्डमा उच्चस्तरको ग्राभेल भएको थियो ।

SwadeshPost