माडीबाहिर पार्टी प्यालेसमा विवाह गर्न र १०१ रुपैंयाभन्दा धेरै दक्षिणा दिन नपाइने

276
SwadeshPost

पछिल्लो समयमा पार्टी प्यालेसहरुमा खर्चिलो र भड्किलो विवाह गर्ने क्रम बढिरहँदा माडी नगरपालिकाले त्यसलाई निरुत्साहित गर्दै माडीबाहिर पार्टी प्यालेसहरुमा हुने विवाहमा रोक लगाउने भएको छ ।

नगरपालिकाको दोश्रो कार्यपालिका बैठकले विवाहको नाउँमा माडीबाहिरका पार्टी प्यालेसहरुमा खर्चिलो भोजभतेर सहितको विवाह नगर्न माडीबासीहरुलाई आग्रह गर्ने निर्णय गरेको हो । दाइजो प्रथा हटाउन समेत नगरपालिकाले सबैमा अनुरोध गरेको छ । नगरपालिकाले विवाह, ब्रतबन्ध, पूजाआजा लगायतका शुभकार्यहरुमा रु १०१/- रुपैंया दक्षिणा निर्धारण समेत गरेको छ । नगरपालिकाका कार्यपालिका सदस्यहरुबाट तत्काल सुरुवात हुनेगरी दक्षिणा निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता सुवेदीले एकै परिवारमा २ वटा छोरी जन्मेको भए दुबैजनालाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने जानकारी दिनुभएको हो । छुवाछुत प्रथा हटाउन छुवाछुत बिरुद्धको दिवसमा सहभोज आयोजना गर्ने समेत निर्णय भएको उहाँले जनाउनुभयो । त्यसैगरी माडी नगरपालिका वडा नं.-६, लक्ष्मीनिवासमा छात्रवास स्थापना गरी अनाथ, बिपन्न र असहाय बालबालिकाहरुलाई पठनपाठनको व्यवस्था गरिने तथा पश्चिमी माडीको बाल्मीकि आश्रममा रहेका ९ जनै बालबालिकाहरुलाई समेत लक्ष्मीनिवास छात्रबासमा राखी आवासीय रुपमा पढाउने समेत निर्णय गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमार्फत माडी नगरपालिका-९, प्याउलीमा बाल शिक्षा केन्द्र स्थापना गर्ने र नगरपालिको भूगोल, जनसंख्या, भू-उपयोगको अवस्था एवं आर्थिक सामाजिक पक्ष समेटी नगर प्रोफाइल तयार गर्ने समेत निर्णय भएको जानकारी दिइएको छ । हरेक महिनाको ७ गते विहान नगरपालिकाको कार्यपालिकाको बैठक बस्न निश्चित गरिएको माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष समेत रहनुभएका प्रवक्ता सुवेदीले सार्वजनिक गर्नुभयो ।

SwadeshPost