बघौडा अस्पताललाई सुरक्षित गर्भपतन सेवा संचालनको अनुमती प्राप्त

110
SwadeshPost

माडी नगरपालिका कार्यपालिकाको बैठकले सुरक्षित गर्भपतन सेवा संचालनका लागि बघौडा अस्पताललाई अनुमती दिएको छ । अस्पतालमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन दक्ष जनशक्ति उपलब्ध रहेकोले सो अस्पताललाई गर्भपतन सेवा संचालनको अनुमति प्रदान गरिएको नगर कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी बघौडा अस्पतालमा अपरेशन सेवा सञ्चालन सहयोगका लागि स्टाफ नर्स डिलमाया गुरुङ्ग र माडी बहुउद्देश्ययीय स्रोत केन्द्र संचालनका लागि त्यहाँ कार्यरत अ.हे.व. टेक नारायण पाठकलाई करार नियुक्ति गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आजको बैठकले जटिल तथा दीर्घरोग भएका बिरामी उपचार सहुलियत तथा सहयोग संचालन कार्यविधि तयार गर्न प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको संयोजकत्वमा सामाजिक विकास समितिका संयोजक, बघौडा अस्पताल मेडिकल सुपरिटेन्डेण्ट, नगर स्वास्थ्य संयोजक र नगरपालिकाका सूचना प्रविधि अधिकृत सदस्य रहनेगरी कार्यदल समेत गठन गर्ने निर्णय गरेको छ ।

आज भएका जनस्वास्थ्य शीर्षकका अन्य निर्णयहरुमा माडी-७ देबेन्द्रपुरमा निर्माणाधीन जगन्नाथपुरी नगर स्वास्थ्य केन्द्रको भवन तथा जग्गाको संरक्षणका लागि स्टीमेट गरी पर्खाल निर्माण गर्ने र कल्याणपुर स्वास्थ्य चौकीको भवन निर्माणका लागि माडी नगरपालिका वडा नं ६ स्याउलीवास स्थित दोभान रेशम कृषक विकास समितिको स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा मध्ये ५ कठ्ठा जग्गा ग्रहण गन वडाध्यक्ष भरतबहादुर गुरुङ्गलाई अख्तियारी दिने लगायतका रहेका छन् ।

SwadeshPost