गाउँमै तरकारी खेती गरी मनग्य आम्दानी गर्दै माडीका दुई दिदीबहिनी

156
SwadeshPost

माडी नगरपालिका–५ ढिकुरबारीकी निरा क्षेत्री र संगिता लामिछाने दिदीबहिनीले तरकारी खेती गरी मनग्य आम्दानी गरिरहनुभएको छ । क्षेत्री र लामिछाने दिदीबहिनीले वि.सं २०७४ सालबाट करीब २ कठ्ठा जमिनबाट तरकारी खेती सुरु गर्नुभएको थियो । दुई कठ्ठा जमिनलाई बढाएर हाल १० कठ्ठा जमिनमा तरकारी खेती गरिरहनुभएका उहाँद्वयले बाेंडी, साग, मुला, गोलभेँडा, घिँरौला लगायतका तरकारीहरु फलाइरहनुभएको हो ।

बिहान ४ बजे सबेरै उठेर खेतमा पुगी तरकारी बालीको गोडमेल, सिंचाई र रेखदेख गर्दै दिदीबहिनीको दिनचर्या सुरुवात हुन्छ । घरमा उत्पादित तरकारीबाली केहि खेतबाटै र केहि माडीको बसन्तपुर बजारबाट बिक्री हुनेगरेको कृषक निरा क्षेत्री बताउनुहुन्छ ।

समाजमा महिलाहरु उत्पादनमूलक कार्यमा लाग्न नसकिरहेको अवस्था रहेको र महिलाहरुलाई रोजगारीको अभाव भइरहेकोमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्न पाउँदा आत्मसन्तुष्टिसंगै खुसी लागेको संगिता लामिछानेले बताउनुभयो । तरकारी खेतीबाट मासिक करीब ३० देखि ४० हजारसम्म आम्दानी हुनेगरेको निरा क्षेत्रीले बताउनुभयो । तरकारी खेतीको सफलतासंगै अब फुलखेती समेत गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । मिहिनेत गरे महिलाहरुले पनि आफ्नै गाउँघरमा केही गर्न सक्छन् भन्ने उदाहरण उहाँ दिदीबहिनीले दिनुभएको छ ।

SwadeshPost