प्राथमिक विद्यालय रमाइलोडाँडाकी पूर्व प्रधानाध्यापक अञ्जला देवी श्रेष्ठको निधन

406
SwadeshPost

माडीको एक विद्यालयमा लामो समय प्रधानाध्यापकका रूपमा शैक्षिक सेवा गर्नुभएकी अञ्जला देवी श्रेष्ठको निधन भएको छ ।

तात्कालीन राष्ट्रिय प्राथमिक विद्यालय, रमाइलोडाँडामा ३१ बर्षसम्म प्रधानाध्यापकका रूपमा काम गर्नुभएकी उहाँ पछिल्लो समय सुगर र प्रेसर रोगका कारण बिरामी रहनुभएको थियो । आज बिहान करीब ६ बजे निधन भएको उहाँलाई आजै दिउँसो माडीको मगोई नदीमा अन्तिम संस्कारसहित अन्त्येष्ठी गरिएको छ ।

२००७ कार्तिक ४ गते जन्मनुभएकी श्रेष्ठले २०२८ सालमा माडी माध्यमिक विद्यालयमा खरदारका रुपमा सेवा सुरुवात गर्नुभएको थियो । श्रेष्ठले २०३० सालमा तात्कालीन रमाइलोडाँडा प्राथमिक विद्यालयमा सरुवा भई शिक्षकका रुपमा र २०३६ सालबाट प्रधानाध्यापकका रुपमा सेवा गर्नुभएको हो । करीब ४० बर्षको सक्रिय शिक्षणकालको अन्त्य गर्दै उहाँ २०६७ सालमा रमाइलोडाँडा प्राथमिक विद्यालयबाटै सेवा निवृत्त हुनुभएको थियो ।

विद्यालयमा कार्यरत रहँदा त्यसको भौतिक विकास, शैक्षिक उन्नयन र दरबन्दी बढाउन उहाँको महत्वपूर्ण भूमिका रहेको उहाँका सहकर्मी तथा हाल माडी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रहनुभएका प्रभानन्द तिवारीले स्वदेशलाई जानकारी दिनुभयो । दिवंगत श्रेष्ठको परिवारमा हाल श्रीमान नरेन्द्रराज श्रेष्ठ, दुई छोराबुहारी र नातीनातीनाहरु रहेका छन् ।

SwadeshPost