डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दो, दिउँसो टोक्ने लामखुट्टेबाट बच्न सुझाव

326
SwadeshPost

चितवन लगायत देशका विभिन्न स्थानहरुमा डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दै गएको देखिएकोले यसबारे सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् ।

चितवन र रौतहटमा डेंगू र स्क्रबटाइफसका कारण यसअघि तीन जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । यस्तै दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम के.सी.ले जानकारी दिनुभयो । साउन महिना यता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेंगूको संक्रमण देखिएको केसीले जानकारी दिनुभयो । त्यस्तै, साउनयता ५०६ जनाको स्क्रबटाइफसको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको संक्रमण देखिएको थियो । अझै यसको संक्रमण बढ्दो संख्यामा रहेको उहाँले बताउनुभयो ।

यसैबिच, माडीमा समेत डेंगू संक्रमण देखिन सक्ने भन्दै चिकित्सकहरुले दिउँसो टोक्ने लामखुट्टेबाट बच्न सुझाव दिएका छन् । आफ्ना घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्ने, झ्याम्म भएका झाडीहरु फाडेर इन्सेक्टिसाइड छरेर डेंगू संक्रमण गर्ने लामखुट्टे नष्ट गर्न माडी नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव सुवेदीले सुझाव दिनुभयो ।

यस वर्ष डेंगू संक्रमण देशका विभिन्न ठाउँमा बढेपछि माडीमा समेत स्वास्थ्य चौकी र माडी नगर जनस्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगूबारे जनचेतना अभियान चलाउनुपर्ने आवश्यकता देखिएको छ ।

SwadeshPost