नेपाली महिलाहरूको महान चाड हरितालिका तीज मनाइँदै

130
SwadeshPost

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज सोमबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।

तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

यसैबिच, तीज पर्वको अवसर पारी आज स्वदेश एफ.एम.समेतको आयोजनामा माडीको बसन्तपुरमा बृहत तीज उत्सव आयोजना गरेको छ । कार्यक्रममा चर्चित लोकदोहोरी गायिका श्रीदेवी देवकोटाको विशेष तीज एवं लोकदोहोरी प्रस्तुती रहने छ । उता, खेलकूद तथा साँस्कृतिक संघ माडी नगरपालिका ८ को आयोजनामा दक्षिण अयोध्यापुरीस्थित आधारभुत बिद्यालय प्राङ्गणमा कार्यक्रम सञ्चालन हुँदैछ । त्यस्तै, बाँवियो डाँडा तीज मेला व्यवस्थापन समितिको आयोजनामा आधारभूत विद्यालय जगन्नाथपुरीको प्राङ्गणमा पर्यापर्यटन र माडी चिनारी शीर्षकमा तीज गीत प्रतियोगिता सञ्चालन हुँदैछ । यता, माडीको बरुवा बजारमा गर्दी सामुदायिक पुस्तकालयको आयोजनामा माडीस्तरीय तीज गीत प्रतियोगिता सञ्चालन हुँदैछ । माडी उपत्यकाका अन्य ठाउँहरुमा पनि तीज विशेष कार्यक्रमहरु आयोजित छन् र बिहानैदेखि कार्यक्रमको तयारी तीब्र पारिएको छ ।

SwadeshPost