छनौटको उत्कृष्ट विद्यालय बनाउन माडीका शिक्षकहरुको प्रतिबद्धता

318
SwadeshPost

माडीका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक सुधारको अभियान चलाउँदै आफ्नो विद्यालयलाई विद्यार्थीको छनौटको उत्कृष्ट विद्यालय बनाउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

शिक्षक र विद्यालयहरुले आज एक कार्यक्रमबिच आउँदो बर्षको एस.ई.ई. परीक्षाको नतीजा सुधार्ने समेत प्रतिबद्धता जनाएका थिए । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरम पारी माडी नगरपालिकाद्वारा आयोजित एस.ई.ई. २०७६ सिकाई उपलब्धी प्रक्षेपण तथा प्रतिबद्धता विषयक शैक्षिक छलफल कार्यक्रमका सहभागीहरुले सो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा माडीका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र विद्यार्थी प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

“गुणस्तरीय शिक्षाको खोजीमा माडी छोड्न खोज्न चाहनेहरुका लागि हाम्रो विद्यालयलाई उत्कृष्ट छनौटको विद्यालयको रुपमा विकसित गर्न हामी सबै आ-आफ्नो ठाउँबाट जिम्मेवारीपूर्ण ढंगबाट अगाडि बढ्न र अपेक्षित उपलब्धी हासिल गर्न प्रतिवद्ध छौं ।” सहभागीहरुले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा लेखिएको छ ।

मनकामना पार्टी प्यालेसमा सम्पन्न सो कार्यक्रममा सम्पूर्ण विद्यालयहरुले एस.ई.ई. २०७६को प्रक्षेपण नगरपालिकालाई पेश गरेका थिए । नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले कार्यपत्र पेश गर्दै विगत र वर्तमानमा माडीका विद्यालयहरुको शैक्षिक अवस्था लगायत शिक्षा क्षेत्रमा माडी नगरपालिकाले गरेको लगानीको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

SwadeshPost