मध्यवर्ती उपभोक्ता समितिको चुनावी प्रकृया बहिष्कार गर्नुपर्ने आवाज उठ्दै

147
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्दै गर्दा त्यसलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

स्वदेशसंग कुराकानी गर्दै माडी नगरपालिका वडा नं. १ का निर्वाचित वडा सदस्य समेत रहनुभएका बरुवाका युवा अमित लामाले मध्यवर्ती उपभोक्ता समितिहरुको चुनावी प्रक्रिया बहिष्कार गर्न आह्वान गर्नुभएको हो । मध्यवर्ती उपभोक्ता समितिमार्फत माडीमा निकुञ्जको दबाव र प्रभाव बढ्दै गएको र माडीको विकास निर्माणको काममा अवरोध हुनेगरेको भन्दै त्यसको बिरोधको सन्देश प्रवाह गर्नु जरुरी रहेको उहाँको भनाई थियो । यसका लागि हाल माडी उपत्यकासंगै मध्यवर्ती क्षेत्रमा जारी रहेको निर्वाचन प्रक्रियामा उम्मेदवारी नदिएर बिरोध गर्दा देशव्यापी सन्देश पुग्ने उहाँको बिचार छ ।

निकुञ्ज प्रशासनले जनस्तरबाट निर्वाचित स्थानीय तहलाई नै वेवास्ता गर्नेगरेको बिरोधमा सो कदम उठाउन उहाँले सबैमा अनुरोध गर्नुभएको हो । राप्रपाबाट वडा सदस्यमा निर्वाचित लामाले आफ्नो पार्टी निर्वाचन बहिष्कारका लागि तयार रहेको सार्वजनिक गर्नुभएको हो । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ नेतृत्वको लागी दलहरु आन्तरिक दौडधुपमा व्यस्त रहेका छन् । निकुञ्ज अन्तरगत चितवन, मकवानपुर, नवलपुर र पर्साका २२ वटै उपभोक्ता समितिहरुमा उपभोक्ता समितिको नेतृत्व पाउन आकंक्षीहरु लगिपरेको देखिएको हो ।

SwadeshPost