पाक्ने समय भइसक्दा पनि धान नपसाएपछि धान कृषकहरु चिन्तित

479
SwadeshPost

पाक्ने समय भइसक्दा पनि धानको बाला नलागेपछि माडीका धान कृषकहरु चिन्तित भएका छन् । गरिमा जातको हाइब्रिड धान भनी खेतमा रोपेका माडीसंगै चितवनका सयौं किसानहरु पाक्ने समय भइसक्दापनि धानको बाला नपसाएको भन्दै चिन्तित देखिएका हुन् ।

धानको बाला नलागेपछिक कृषकहरुले सो जातको बीउ बिक्री गर्ने एग्रो फार्मलाई कारबाही र किसानलाई क्षतिपूर्तिका लागि सम्बन्धित वडा कार्यालयहरुमा उजुरी गरेका छन् । माडीमा हालसम्म करीब २० जना कृषकहरुले लिखित उजुरी दिइसकेका छन् भने थप कृषकहरुको उजुरी आउने क्रममा रहेको देबेन्द्रपुरका कृषक यमकुमार काफ्लेले जानकारी दिनुभयो । अघिल्लो बर्ष यसबेलासम्म गरिमा जातको धान पसाइसकेको कृषकहरुको स्मरण छ । सो उत्पादनलाई नै बीउका रुपमा लगाएका कृषकहरुको धान भने पसाइसकेको छ ।

यसैबिच, गरिमा जातको हाइब्रिड धान नपसाएका चितवनका खेतहरुमा कृषि वैज्ञानिक र विज्ञहरुको टोलीले स्थलगत अध्ययन गरेको छ । तीन दिनसम्मको अनुसन्धानद्वारा बाला नलागेको धान गरिमा जातको नभएको निष्कर्षमा सो टोली पुगेको छ । धानको डीएनए फिङ्गर प्रिन्टिङ परीक्षण पश्चात धानको प्रजाति पत्ता लाग्ने टोलीका संयोजक समेत रहनुभएका कृषि वैज्ञानिक डा. रामवरण यादवको भनाई छ ।

SwadeshPost