बाढी विपद् न्यूनिकरण परियोजना माडी नगरपालिकालाई हस्तान्तरित

135
SwadeshPost

माडीको बाँदरमुढे खोलाको बाढी विपद् न्यूनिकरणका लागि जापानी सहयोगमा सञ्चालित परियोजना माडी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

साप्लानीर नामको जापानी दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले माडीको बाँदरमुढे खोला नियन्त्रणका लागि सञ्चालन गरेको जल उत्पन्न बिपद् जोखिम न्यूनिकरण परियोजना नगरपालिकालाई हस्तान्तरण भएको हो । परियोजना अन्तरगत करीब ४ करोड ७० लाख र जनश्रमदान स्वरुप करीक ४० लाख रुपैंया बजेटबाट बाँदरमुढे खोलाको ७ किलोमिटर करिडोरमा १४ किलोमिटर ड्याम निर्माण तथा रिभर क्रसिङ, चेक ड्याम, तारजाली, तटबन्धन, पानी निकाश प्रणाली आदि निर्माण गरिएको छ ।

गत २०७३ साल कार्तिक १६ गते सुरुवात भएको सो परियोजनालाई समय अगावै कार्यसम्पन्न गरी स्थानीय सरकारलाई स्वामित्व हस्तान्तरण गरिएको आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीको भनाई छ । हस्तान्तरण कार्यक्रममा प्रादेशिक साँसद रामलाल महतो, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र आर.आर.एनका उपाध्यक्ष डा. निरज नारायण जोशीसंगै परियोजनाका कर्मचारी र नदी प्रभावित क्षेत्रबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले बाढीजन्य बिपद्को उच्च जोखिममा रहेको माडी क्षेत्रमा आर.आर.एन.ले एक नदी एक समुदायको अवधारणामा नदी नियन्त्रणको परियोजना सञ्चालन गरी अन्तर्राष्ट्रिय स्तरमै ‘माडी मोडल’ स्थापित गरेकोमा बधाई ज्ञापन गरेका थिए ।

SwadeshPost