दशैंभर प्रहरीद्वारा माडीका विभिन्न होटलहरुमा छड्के चेकजाँच

269
SwadeshPost

दशैं पर्वको अवधीमा ईलाका प्रहरी कार्यालय माडीले विभिन्न होटलहरुमा छड्के चेकजाँच गरेको छ ।

माडीको बरुवादेखि कृष्णनगरसम्मका विभिन्न होटल र खाजा घरहरुमा छड्के चेकजाँच गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख हर्क बिश्वकर्माले जानकारी दिनुभयो । दिउँसो, साँझपख र रातको समयमा गरिएको छड्के चेकजाँचका क्रममा केहि होटल व्यवसायीहरुसंगै जुवातासमा संलग्न रहेको आशंका गरिएका र मादक पदार्थ सेवन गरेका करीब २५ जनालाई सोधपुछ गरी चेतावनीसहित छोडिएको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालयले आउँदो तिहार र छठको समयमा समेत हालकै सुरक्षा रणनीति अपनाउने प्रहरीको भनाई छ । प्रहरी सक्रियताका कारण हरेक बर्षजसो दशैंको समयमा युवा समूहहरुबिच हुने झडप र विवाद यसबर्ष धेरै हदसम्म कम भएको देखिन्छ । माडीमा नवमीको राती कृष्णनगरमा बगहीँ र जीवनपुरका युवा समूहहरुबिच सामान्य झडप हुनुका अलावा अन्यत्र शान्तिपूर्ण तवरले विजया दशमी वितेको हो । झडप स्थानमा प्रहरी निरीक्षक सहितको प्रहरीटोली समयमै पुगेकाले झडपले ठूलो रुप नपाएको हो ।

यसैबिच, दशैंको समयमा प्रहरीले आवश्यकताभन्दा धेरै र आतंक फैलाउनेगरी होटल र खाजा घरहरुमा छापा मारेको भन्दै व्यवसायीहरु असन्तुष्ट बनेका छन् । प्रहरीलाई ‘खुसी बनाउन नसक्दा’ अनावश्यक रुपमा व्यवसायीहरुलाई दुःख दिइएको उनीहरुको आरोप थियो ।

SwadeshPost