श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिला माडी प्रहरीकाे नियन्त्रणमा

86
SwadeshPost

पटक पटक विवाह गरी श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिलालाई माडी प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा जिल्लामा माइती रहेकी बर्ष २७ की लक्ष्मी तामाङलाई पछिल्ला श्रीमान सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

अमलेखगञ्ज निवासी सुवास रुम्बासंग पहिलो विवाह गरेकी उनले दोश्रो विवाह केहि महिनाअघि माडी भैरवपुर (ढिकुन)का सन्तोष बोटेसंग गरेकी थिइन् भने हालसालै उनी तेश्रो श्रीमानका रुपमा चितवनकै विजयनगरका राजु आलेमगरसंग बस्न सुरु गरेकी छिन् । यस्तोमा, पहिलो श्रीमानबाट जन्मेकी हाल ३ बर्षीया बलिका अञ्जली तामाङको बिचल्ली भएको भन्दै माडीको भैरवपुर गाउँबासीहरुले उनलाई प्रहरीको जिम्मा लगाएका थिए । तामाङले झुठो बुबा खडा गरी आफ्नै ३ बर्षीया छोरीलाई बेचबिखन गर्न लागेको गाउँलेहरुको आशंका छ ।

तामाङलाई प्रहरीको जिम्मा लगाएसंगै गहिराईसम्म पुगी अनुसन्धान गर्न माडी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले आग्रह गर्नुभएको छ । प्रहरीले भने ३ बर्षीया बालिका अञ्जली तामाङलाई तत्कालको हेरचाहका लागि लक्ष्मीनिवासस्थित सहयोगी समाज नेपालद्वारा सञ्चालित नमुना छात्रबासको जिम्मा लगाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

SwadeshPost