उमेर ढल्कँदो, तर जोश जाँगर भने उस्तै । बिहानै उठ्यो अनि मुर्ती बनाउने मिहिन कार्यमा भिँड्यो । अविराम लगावको परिणामस्वरुप एउटा आकर्षक मुर्ती तयार हुन्छ, अनि सन्तुष्टिको लामो निश्वास ।
यसरी नै वित्दैछ, माडी रामराज्यपुरका मुर्तीकार पूर्ण बहादुर बि.क.को दैनिकी । देवदेवीहरुको मुर्ती बनाउँदै र ढुङ्गा खोपेर विभिन्न आकृति बनाउँदै उहाँको बाल्यकाल वितेको थियो । पछि युवा उमेरमा भारतको कलकत्तास्थित म्युनिशिप्यालिटी आर्ट कलेजमा मुर्तीकला अध्ययन गरी भारतकै आसाम तेजु सहरबाट उहाँ व्यवसायिक कलाकारितामा रमाउन थाल्नुभएको हो ।
केहि वर्षको भारत बसाई पश्चात् स्वदेश फर्की माडीमा बसोबास गर्दै आउनुभएका कलाकार विश्वकर्माले महाकाली, दुर्गा, शिव, पार्वती, गणेश, लक्ष्मी लगायत दर्जनौं देवी देवताहरुको मुर्ती निमार्ण गर्नुहुन्छ । उहाँले बनाउनुभएका मुर्तीहरू माडीका विभिन्न धार्मिक स्थल र शैक्षिक संस्थाहरुमा स्थापित छन् भने देशका विभिन्न स्थानहरूमा समेत विक्रि हुने गरेका छन् ।
हाल ६३ बर्ष लाग्नुभयो, आँखाको क्षमता पनि घट्दै छ, शरीर बुढो हुँदै पनि छ, तर मुर्ती बनाउन थालेसंगै खै कहाँबाट हो, अचम्मै जाँगर चल्छ उहाँलाई । यसरी दैनिक मेहनत र लगावका साथ निर्मित मुर्तीहरु बेचेर घरखर्ची चलाउने गरेको उहाँको भनाई छ । उहाँले निर्माण गरेका मुर्तीहरू गुणस्तर र आकार अनुसार रू. ५ हजार देखि १ लाख सम्म पर्ने गरेका छन् ।
मुर्ती निर्माण गर्दा लाग्ने खर्च, मेहनत र परिश्रम अनुसार प्रतिफल नपाउँदा र तयारी मुर्ती बिक्री नभई घरमै थन्क्याउने परिस्थिति आउँदा भने दैनिक जोहो गर्न अत्यन्तै कठिन हुने गरेको उहाँको भोगाई छ । रामराज्यपुरस्थित बाँदरमुढे खोलाको किनारमा पहिले ३ बिगाहा रहेको उहाँको घरजग्गा वर्षेनी बाढीले कटान गरेसंगै हाल खेतीयोग्य जमिन ३ कठ्ठा मात्र बाँकी रहेको र बाँकी जमीन बगर तथा काँसघारी र झाडीमा परिणत भएको उहाँको गुनासो छ । खैर, बिपन्नताको पीडा एकातिर छँदैछ, तर जब मुर्ती तयार हुन्छ, पुनः दोहोरिन्छ, उही सन्तुष्टिको लामो निश्वास ।