समयमै कालोपत्रे सुरू नहुँदा माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य

396
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य हुनेगरेको छ । सडकमा कालोपत्रे गर्नका लागि पुरानो पिच भत्काई त्यसमाथि ग्राभेल बिछ्याइएकोमा ग्राभेलको धुलो उडेर सडक धुलाम्य हुने गरेको हो ।

मुख्यतः साना ठूला सवारी साधन गुड्दा बाटो अत्यधिक धुलाम्य हुनेगरेको छ । सडक धुलाम्य हँदा त्यस वरपरका व्यवसायी तथा स्थानीयबासीहरु प्रभावित भइरहेका छन् भने बाटोमा हिँड्ने पैदलयात्रुसंगै दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र साना ठूला सवारी साधनमा यात्रा गर्नेहरुले समेत असहज महसुस गरिरहेका छन् । धुलोका कारण विभिन्न स्वास्थ्य समस्याहरु समेत देखिन थालेको स्थानीयबासीहरुको गुनासो छ ।

बरुवा र बसन्तपुरको मुख्य बजारबाहेक अन्यत्र सबैतिर बाटोमा ग्राभेल बिछ्याई छोडिएको छ । सडक कालोपत्रे गर्ने ठेक्का पाएको आशिष निर्माण सेवाले समयमै कालोपत्रेको काम सुरु नगर्दा बाटोमा धुलोको समस्या बढ्दै गएको हो । सो कम्पनीले बर्षायाम सकिएर दशैं सुरु हुनुअगावै माडीको बाटो कालोपत्रेको काम सुरुवात गरिने बताएको भएपनि दशैं सकिएर तिहार पर्व आइसक्दा पनि सडक कालोपत्रे काम सुरु हुन सकेको छैन ।

SwadeshPost